बाम एकता अन्तिम चरणमा, प्रचण्डले भने – तयार रहनुस्


काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता हुने नै भयो अब तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।

‘पार्टी एकता अन्तिम चरणमा पुगेको छ । मेरो र ओलीजीको वार्ता सकारात्मक रूपमा अन्तिम चरणमा छ । यसलाई व्यवस्थित गर्न सांगठनिक र वैचारिक कार्यदिशासँग सम्बन्धित दुईवटा कार्यदल बनाउने सहमति भएको छ । अब विभिन्न पार्टी (माओवादी वा एमाले) मात्रै रहेर हुँदैन, एउटा कम्युनिस्ट केन्द्र बनाएर, ठूलो पार्टी बनाएर समाजवादी क्रान्तिमा जानु छ । तपाईंहरू तयार हुनुहोस्, वैचारिक रूपमा कमजोर नहुनुस् । दृढसंकल्पित भएर अघि बढ्नुस् । समयको चुनौती हो, हामीले सामना गर्नुपर्छ,’ उनले भने।

नेतृत्वमा पदाधिकारी नराख्ने र दुई अंकभन्दा नबढ्ने गरी (अर्थात् सयभन्दा कम) सदस्य रहेको केन्द्रीय कमिटी बनाउने विषयमा छलफल चलेको छ । तर, यो छलफलले बुधबारको संयोजन समिति बैठकमा प्रवेश पाइनसकेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए । पदाधिकारी नराख्दा शीर्ष नेताको भूमिका कम हुने, स्थायी समिति र केन्द्रीय सदस्यको पद घटुवा हुने सम्भावना देखिएपछि बिहीबार दुवै पार्टीका पहिलो र दोस्रो तहका नेताले छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन् । संगठनात्मक स्वधपबारे अनौपचारिक तहको मोटामोटी खाका संयोजन समितिको छलफलमा प्रस्तुत हुने र कम्तीमा पदाधिकारी र स्थायी समितिमा रहेका नेतालाई स्थायी समितिमै राख्नुपर्ने बाध्यताका कारण संगठनको आकार ठूलो हुने सम्भावना देखिएको एक नेताले बताए ।

त्यस्तै, छलफलमा एमाले नेताहरूले पार्टीको पोजिसनका आधारमा ओलीले कम्तीमा ३ वर्ष सरकारको नेतृत्व गरिसकेपछि प्रचण्डलाई हस्तान्तरण गर्ने कुरा उठाएको छ भने माओवादी नेताहरूले संयुक्त नेतृत्व र आलोपालो सिद्धान्तअनुसार अढाइ–अढाइ वर्ष हुनुपर्ने अडान राखेका छन् । यस विषयमा सहमति हुन बाँकी छ ।

एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ । दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ ।

ललितपुरमा बुधबार बसेको संयोजन समिति बैठकले एकीकृत पार्टीको मूल नेतृत्व र तत्कालीन सैद्धान्तिक–वैचारिक कार्यदिशामा पनि सहमति गरेको छ । बहुदलीय प्रतिस्पर्धाको शान्तिपूर्ण बाटोबाट सामाजिक–आर्थिक रूपान्तरण गर्दै समाजवादको आधार खडा गर्ने मूल कार्यदिशामा सहमति भएअनुसार लिपिबद्ध गर्ने प्रक्रिया संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । माक्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै जबज र एक्काइसौँ शताब्दीको जनवादका समानता पहिल्याएर नमिलेका विषयलाई महाधिवेशनबाट टुंगो लगाउने दुई दलबीच समझदारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement