राजनीतिक घनचक्कर : प्रचण्डको रोजाइमा भारत, भारतको रोजाइमा ‘नेपाली राजा’


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेको ५ महिना पुग्दैछ तर उनले हालसम्म विदेश भ्रमण गरेका छैनन् ।

प्रधानमन्त्री प्रचण्डले कठोर ‘कसम’ खाएका छन्, तेस्रो कार्यकालको पहिलो विदेश भ्रमण भारतबाटै गर्ने । तर उनको भारत भ्रमणको साइत जुरिरहेको छैन ।

भारत भ्रमणको तयारीका लागि प्रधानमन्त्री प्रचण्डले गत वैशाख ३ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदलाई परराष्ट्रमन्त्री नियुक्त गरे । साउँदले परराष्ट्रमन्त्री बनेपछि बेलायत र बंगलादेशको भ्रमण गरिसकेका छन् तर प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय हुन सकेको छैन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जापान र फ्रान्स भ्रमणमा जाने कार्यक्रम रहेकाले प्रचण्डको भ्रमणको मिति तय हुन नसकेको स्रोतले जनाएको छ । साउँद परराष्ट्रमन्त्री नियुक्त भएपछि भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले काठमाडौं आएर प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे प्रारम्भिक छलफल गरेका छन् । परराष्ट्रमन्त्री साउँदलाई जुन हतारोका साथ भारत भ्रमणको तयारी गर्ने भनी नियुक्त गरिएको थियो, त्यसअनुसार तयारी र भ्रमणको मिति तय हुन सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो रोजाइमा भारतलाई राखिरहेका बेला भारतको रोजाइमा भने पूर्वराजा ज्ञानेन्द्र शाह परेका छन् । सत्तारुढ भाजपाका प्रभावशाली नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पूर्वराजा शाहलाई लखनऊमा भव्य स्वागत गरेका छन् । मुख्यमन्त्री योगीले समय–समयमा नेपालमा हिन्दूराष्ट्र पुनःस्थापना र नेपाली राजाको वकालत गर्दै आएका छन् । यसरी भारतको रोजाइमा नेपाली राजा परेका छ ।

प्रधानमन्त्री प्रचण्डको रोजाइमा भारत पर्नु र भारतको रोजाइमा पूर्वराजा पर्नुप्रति संसदमा प्रश्न उठेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्नो एजेन्डामा सहमत गराउन भारतले प्रचण्डको भ्रमणमा ढिलाइ गर्दै लगेको दाबी गरे । पूर्वराजा ज्ञानेन्द्रलाई उत्तर प्रदेशमा स्वागत गरेर भारतले प्रधानमन्त्री प्रचण्डमाथि दबाब कूटनीति अवलम्बन गरिरहेको उनको आरोप छ ।

प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई भारतको कूटनीतिक दबाबमा नपर्न उनले सचेत गराए । सांसद पन्तले भने, ‘भारतमा नेपालको प्रधानमन्त्रीलाई जान नदिने तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गर्ने र प्रेसर डिप्लोमेसी यो वर्ल्ड डिप्लोमेसीमा चलनचल्तीको शब्द हो – दबाबको कूटनीति । के मेरो एजेन्डा पूरा गर्छौ ? मेरो एजेन्डा तिम्रो कार्यसूचीमा पर्छ कि पर्दैन ? अनि मात्रै भारतमा म तिमीलाई स्वागत गर्छु भनेर त्यसका लागि दबाब दिन राजालाई भारतमा स्वागत गरियो । म भन्छु, सभामुख महोदय, म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु – यो प्रेसर डिप्लोमेसीमा नेपालको सरकार पर्नु हुँदैन । नेपालको प्रधानमन्त्री पर्नु हुँदैन । भारत भ्रमणको क्रममा नेपालको शिर निहु¥याउने, नेपाललाई अप्ठ्यारोमा पार्ने, नेपालको स्वाभिमान गिराउने कुनै पनि एजेन्डा प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीमा नरहोस् ।’

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अनिश्चित भइरहेका बेला भारत र पूर्वराजा शाहबीच हिमचिम बढेको छ । पूर्वराजा शाहले नेपालगञ्ज हुँदै भारतको लखनऊ पुगेर भाजपाका प्रभावशाली हिन्दुवादी नेता तथा मुख्यमन्त्री योगीलाई भेटेका छन् । शाह मुख्यमन्त्री योगीकै विशेष निमन्त्रणामा लखनऊ गएका स्रोतको दाबी छ । यसअघि समेत हरिद्वारमा योगी र शाहबीच भेटवार्ता भएको थियो ।

पूर्वराजा शाहको भ्रमण टोलीमा पूर्वयुवराज पारस शाहबाहेक राजपरिवारका सबै सदस्य सहभागी थिए । भ्रमणमा पूर्वरानी कोमल,पूर्व युवराज्ञी हिमानी, पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी र पूर्वअधिराजकुमारी प्रेरणा रहेका थिए । मुख्यमन्त्री योगीले नेपालको पूर्वराजपरिवारलाई श्री ५ महाराजधिराजकै हैसियतमा सम्बोधन गर्ने गर्छन् ।

प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमणका लागि भारतलाई रोज्नु, भारतले उनको भ्रमणका लागि मिति तय गर्न ढिलाइ गर्नु र भारतीय संस्थापनले पूर्वराजा शाहलाई विशेष स्वागत गर्नुले नेपाली राजनीतिमा प्रश्न गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement