काठमाण्डु- दाङको स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
दाङ देउखुरीबाट माघ १८ गते गौशालास्थित पशुपति धर्मशालामा आएर बसेका उनीहरु गौशाला क्षेत्रबाट रातोपुल, सेतोपुल, बिजुलीबजार हुँदै माइतीघर आइपुगेका हुन् ।
२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच सहमति भएको थियो । जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरू गर्ने उल्लेख थियो ।
तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।
स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका प्रवक्ता प्रविण थारुले मोही किसानलाई मोही पूर्जा प्राप्त भएपनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको बताए । उनले सरकारले आफूहरूसँग यसअघि गरेको सहमति कार्यान्वयन हुनुपर्ने उल्लेख गरे।
काठमाडौंको आन्दोलनमा पनि सुनुवाइ नभए दाङ फर्केर शान्तिपूर्णदेखि सशक्त र दाङ बन्दसम्मका कार्यक्रम गर्ने तयारी पनि भएको स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले चेतावनी दिएको छ । स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिगाह १७ कट्ठा सात धुर जग्गामध्ये सात सय ५३ बिगाह जग्गामा मोही कायम छ ।
मोही कायम भएको जग्गाको स्वामित्व आफूहरूले पाउनुपर्ने मोही किसानको माग छ ।
प्रतिक्रिया