पुराना कम्युनिष्ट प्रदीप नेपालले गरे एमालेको सदस्यता नवीकरण

पुराना कम्युनिष्ट प्रदीप नेपालले गरे एमालेको सदस्यता नवीकरण


काठमाण्डु – नेपाली कम्युनिष्ट आन्दोलनका हस्ती प्रदीप नेपालले नेकपा एमालेको पार्टी सदस्यता नवीकरण गरेका छन् ।

पूर्व सञ्चारमन्त्री समेत रहेका नेता नेपालले आज एमालेको संगठित सदस्यता नवीकरण गरेका हुन् ।

एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले दिएको जानकारीअनुसार नेता नेपालले एमालेकै सदस्य रहेको भन्दै नवीकरण गर्ने जानकारी दिए । संगठन विभाग प्रमुख अधिकारी आज वरिष्ठ नेता नेपाललाई भेट्न उनकै निवास गोठाटार गएका थिए । सो क्रममा नेता नेपालले आफू एमालेको सदस्य कायम रहेको भन्दै नवीकरण गर्ने जनाएका छन् ।

उनले भने, ‘मेरो पनि नेता भएकोले उहाँलाई भेट्न गएको थिएँ, उहाँले संगठित सदस्यता एमालेमै रहेको र नवीकरण गरिदिन भन्नुभयो । दिउँसो सहयोगी पठाएर सदस्यता नवीकरण गर्नुभएको छ ।’

नेता नेपालले सुरुवाती चरणदेखि नै आफूलाई राजनीतिक यात्रामा सघाउँदै आएका भान्जा सुरेश निरौलालाई पार्टी सदस्यता नवीकरणका लागि पार्टी कार्यालय पठाएका थिए । निरौलाले दशौं महाधिवेशनयताको बाँकी शुल्क तिरेर नविकरण गरेका छन् ।

उनले भने, ‘महाधिवेशनपछि बाँकी रहेको शुल्क तिरेर प्रदीप कमरेडको पार्टी सदस्यता नवीकरण भएको छ ।’

नेकपा एमालेका स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहेका नेता नेपाल एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक अध्यक्षको उम्मेदवार बन्दा उनकै टीमबाट महासचिवको उम्मेदवार भई पराजित भएका थिए । अध्यक्ष ओली दोस्रोपटक अध्यक्षको चुनाव लडेर माधव नेपाललाई पराजित गर्दा पनि नेता नेपाल उपाध्यक्षको उम्मेदवार बनेका थिए तर पराजित भए । त्यसपछि स्वास्थ्यको कारण पार्टी काममा सक्रियता केही कम गरेका नेपालले नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए ।