सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र निर्माण हुन्छ : मन्त्री पौडेल

सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र निर्माण हुन्छ : मन्त्री पौडेल


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ७ वटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन् ।

विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताए ।

‘मानव अङ्गदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रूपमा उपकेन्द्र सञ्चालन हुनेछन्,’ मन्त्री पौडेलले भने, ‘तत्काल कोशी प्रदेशबाट यो काम थालिने छ ।’

उनले कोशीमा छिट्टै उपकेन्द्र खुल्ने जानकारी दिँदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए । ‘यस (केन्द्र) ले मात्र देशैभर सेवा दिन सक्दैन,’ उनले भने, ‘त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र खोल्ने तयारी गरेका छौं ।’

सीमित जनशक्ति, पूर्वाधार र स्रोतका कारण चाहे जस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ति र स्रोतलाई अधिक सक्रिय बनाएर जनतालाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी दिए । ‘मैले यो कुरा स्टन्ट गर्न भनेको होइन,’ मन्त्री पौडेलले भने, ‘यो आवश्यकता हो । पूर्वाधार, जनशक्ति र उपकरणको पक्षबाट व्यवस्थित गर्छौं ।’

मन्त्री पौडेलले अस्पताललाई उपकरण तथा जनशक्ति थप्ने विषयमा आवश्यक पहल गर्न प्रतिबद्ध रहेको बताए । मन्त्री पौडेलले मानव अङ्गदान जीवनदान भएको भन्दै यसलाई प्रोत्साहित गरिनु जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा अङ्गदातालाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले पनि अङ्गदान गर्ने घोषणा गरेका छन् ।