काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयका प्राथमिकता र कार्ययोजना सार्वजनिक गरेका छन्।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले मन्त्रालयका प्राथमिकता र कार्ययोजना सार्वजनिक गरेका हुन् ।
पौडेलले स्वास्थ्य जनशक्तिको व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य सेवा ऐनको तर्जुमा गरिने, समायोजनमा परेका स्वास्थ्यकर्मीको पदस्थापना गर्ने, नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आवद्ध गर्ने प्रबन्ध गर्ने विषय आफ्ना प्राथमिकतामा समावेश गरेका छन् ।
‘सबै प्रकारका स्वास्थ्य संस्थामा सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड निर्धारण र पुनरावलोकन (वर्षैभरि निरन्तर रुपमा उपलब्ध सेवाहरु २४ घन्टा इमर्जेन्सी, ओपिडी, अन्तरंग, भिडियो एक्सरे, फार्मेसी, ल्याबूको सेवा, सुत्केरी डेलिभरी आदि र तीनका गुणस्तरका आधारमा वर्गीकरण) गर्ने कार्य सम्पन्न गरी सो को कार्यान्वयन र प्रभावकारी सुपरिवेक्षणको व्यवस्था गरिनेछ,’ उनले भने।
स्थानीय तहमा एमडिजपिपी, एमबिबिएस चिकित्सक सहितको सेवा प्रदान गर्न तथा स्वास्थ्य जनशक्तिको उत्पादन र व्यवस्थापनका लागि स्थानीय तहसंग साझेदारी र चिकित्सा शिक्षा आयोगसँग समन्वय गर्ने तयारीमा मन्त्रालय रहेको मन्त्री पौडेलले उल्लेख गरेका छन् ।
पौडेलले १०० बेडभन्दा माथिका सरकारी अस्पतालहरुमा नर्सिङ र ३०० बेडभन्दा माथिका सरकारी अस्पतालहरुमा स्नातक र स्नातकोत्तर तहका विषयहरु अध्ययन अध्यापन गराउने सन्दर्भमा विगतमा भएका अध्ययनलाई पुनरावलोकन गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगसँग समन्वय गरि कार्यान्वय गर्ने तयारी छ।
संघीय अस्पतालको सेवा विस्तार एवं अस्पतालहरुमा शल्यक्रिया क्षमता विस्तार गरी शूल्य चिकित्सा सेवामा हुने लामो क्यू घटाउनको लागि संघीय अस्पतालहरुको अपरेसन थिएटरमा पूर्वाधार थप गर्ने पौडेलको कार्ययोजनामा उल्लेख छ ।
सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आवद्धतालाई द्रुत गतिमा बढाउन स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक, अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बिमामा समेट्न, आम्दानीको आधारमा प्रिमियम र भुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन स्वास्थ्य बीमाको नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने पौडेलले बताए।
प्रतिक्रिया