काठमाण्डु – प्रदेश १ को प्रदेश सभा बैठक भोलि अर्थात सोमबार बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश १ प्रदेशसभाको बैठक चैत्र २ गतेका लागि बोलाएका हुन् । बैठक दिउँसो १ बजे बस्नेछ । सो बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको दल नै नरहेपछि अविश्वास प्रस्ताव अब के हुन्छ भन्ने जन चासो बढेको छ ।
सर्वोच्च अदालतले नेकपा नामको विवादलाई किनारा लगाउँदै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्यूताईदिएको छ । प्रदेशसभा सचिवालयमा गत पुस १२ गते तत्कालीन नेकपाको दाहाल–नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
प्रदेशसभाको फागुन ९ गतेको बैठकमा सरकार पक्षको अनुपस्थितिमा अविश्वास प्रस्ताव पेस गरिएको थियो । अविश्वास प्रस्तावबारे सर्वोच्च अदालतको आदेश आउनुअघिसम्म चैत २ गतेको बैठकमा छलफल हुने निश्चित थियो ।
प्रदेशसभामा पेस भएको अविश्वास प्रस्ताव प्रस्तावकले फिर्ता गर्न चाहे सहमतिमा मिल्ने तर सभामुखले खारेज गर्न नमिल्ने कानुनी व्यवस्था छ । एमालेका मुख्य सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिनुपर्ने या सभामुख भण्डारीले खारेज गर्नुपर्ने बताउँदै आएका छन् ।
प्रस्तावकले फिर्ता नलिए प्रक्रियागत रूपमै अविश्वास प्रस्ताव टुंग्याउनु पर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रक्रियामा लगेर अविश्वास प्रस्ताव असफल बनाउँदा एक वर्षसम्म मुख्यमन्त्री राईविरुद्ध अर्को अविश्वास प्रस्ताव ल्याउन नमिल्ने संवैधानिक व्यवस्था छ ।
एमालेका नेता माधवकुमार नेपाल समूहका प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले केन्द्रका नेताहरूले गरेको निर्णयअनुसार प्रदेशसभामा अघि बढ्ने बताए । त्यस्तै माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले पार्टीको चैत १ गते बस्ने बैठकले गर्ने निर्णयअनुसार प्रदेशसभामा अघि बढ्ने बताए ।
तत्कालीन नेकपा प्रचण्ड–नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामा ५ जनाले लिखित रूपमै हस्ताक्षर फिर्ताको घोषणा गरिसकेका छन् । ९१ सदस्यीय प्रदेशसभामा तत्कालीन नेकपाका ६७ मध्ये एमालेका ५१ जना सांसद रहेका छन् ।




प्रतिक्रिया