काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको आपूर्तिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबार नागार्जुन नगरपालिका–४, ५ र ६ स्थित भैरबटोल सितापाईला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकार नागरिकहरूका स्वच्छ खानेपानीका अपेक्षा पूरा गर्नका लागि दृढतापूर्वक प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘नागरिकहरूले स्वच्छ खानेपानी र सरसफाइका लागि ठूलो अपेक्षा राख्नुभएको छ । म विश्वास दिलाउन चाहन्छु, हाम्रो मन्त्रालय नागरिकहरूको अपेक्षा पूरा गर्नका लागि दृढतापूर्वक प्रतिबद्ध छ ।’
स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानीमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोही अनुरूप, खानेपानी मन्त्रालय यस्ता आधारभूत सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न निरन्तर प्रयत्नशील रहेको उनले जानकारी दिए ।
मन्त्री यादवले खानेपानी सेवाको दीगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सशक्त समन्वय आवश्यक रहेको औंल्याए । उनले स्थानीय उपभोक्ता समितिहरूलाई अझ सशक्त बनाउँदै खानेपानी सेवा व्यवस्थापनमा उनीहरूको भूमिकालाई अझ सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
आगामी वर्षमा देशका प्रमुख शहर तथा ग्रामीण क्षेत्रहरूमा खानेपानी योजना विस्तार, शुद्धीकरण संयन्त्रहरू स्थापना, पाइपलाइन विस्तार र भूमिगत जलस्रोत संरक्षणका कार्यक्रमहरू अघि बढाइने उनको भनाइ छ ।
कार्यक्रममा भैरबटोल सितापाइला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुरेशप्रसाद ढुङ्गानाले खानेपानी सेवा प्रवाहमा नागरिक–सरकार सहकार्य अझ सुदृढ भई नागरिकलाई शुद्ध र पर्याप्त खानेपानीको पहुँच सुनिश्चित गर्न सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका नगर उपप्रमुख सुशीला अधिकारी, जनप्रतिनिधि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख पूर्णप्रसाद उपाध्याय, स्थानीय उपभोक्ता, स्थानीय लगायतको सहभागिता थियो ।
प्रतिक्रिया