काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले सुकुमबासी हटाउने काम हतारमा गरेको भन्दै आलोचना गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छानबिन नगरी वास्तविक सुकुम्बासीलाई समेत दु:ख पुग्ने गरी कदम चालिएको बताएका हुन् ।
उनले भने, ‘छानबिन गरेर वास्तविक सुकुमबासीलाई दु:ख नहुने गरी काम गरिनुपर्थ्यो तर सरकारले सुकुमबासी हटाउने काम एकदमै हतारमा गरेको छ । जोरजबरजस्ती र राज्यले पेलेजस्तो देखियो ।’
पौडेलले राज्य सबै नागरिकप्रति सहयोगी हुनुपर्ने उल्लेख गर्दै पहिले सुकुमबासी समस्याबारे पर्याप्त गृहकार्य भएको पनि स्मरण गराए । उनले त्यस आधारमा वास्तविक र नक्कली सुकुमबासी छुट्याउन सकिने अवस्था रहेको तर त्यसलाई बेवास्ता गरिएको आरोप लगाए ।
उनले भने, ‘राज्य सबैका लागि सहयोगी हुनुपर्छ । पहिले पनि सुकुमबासीहरूका बारेमा धेरै गृहकार्य भएको थियो । पहिले भएको गृहकार्यका आधारमा को वास्तविक सुकुम्बासी हो, को नक्कली सुकुम्बासी हो छुट्याउन सकिने आधारहरू थियो । ठूलो सुकुमबासी बस्तीभित्र सक्कली वास्तविक सुकुमबासीहरू समेत थिए । उनीहरूलाई पनि जोरजबरजस्ती डोजर लगाएर निकाल्ने काम भयो ।’
उनले ठूलो सुकुम्बासी बस्तीभित्र रहेका वास्तविक सुकुमबासीहरूलाई समेत डोजर प्रयोग गरेर हटाइएको र जसले राज्यले आफ्नो दायित्व निर्वाह गर्न नसकेको बताए ।
पौडेलले सुकुम्बासी समस्या समाधानका लागि तत्काल हटाउनेभन्दा पनि समय लिएर अध्ययन गरी वैकल्पिक व्यवस्था सुनिश्चित नगरेसम्म हटाउन नहुने बताए । उनले वास्तविक सुकुम्बासीको अवस्था बुझेर कमभन्दा कम दु:ख हुने गरी व्यवस्थापन गरिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनले भने, ‘राज्यले दायित्व निर्वाह गरेको परिस्थिति देखिएन । हामीले जस्तो छ त्यस्तै राखिनुपर्छ भनेको होइन तर समय लिएर वास्तविक सुकुमबासीको वैकल्पिक व्यवस्था गरिदिएर कुन अवस्थामा छ, त्यो बुझेर धेरै दु:ख नहुने गरी सजिलो गरी सुकुमबासीहरूलाई व्यवस्थापन गरिनुपर्थ्यो ।’




प्रतिक्रिया