काठमाण्डु – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीभित्र पर्याप्त अवसर पाएका नेताहरू नै बढी असन्तुष्ट देखिनुको कारणबारे प्रश्न गरेका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले भने, ‘सबैभन्दा धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो ? सन्देश नै प्राप्ति हो भन्ने दियौँ कि अवसर दिँदा मूल्यांकन भएन ?’
एमाले, कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण चुनौतीको अवस्थामा रहेको भन्दै उनले अहिले पार्टीभित्र एकता आवश्यक रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असफल हुँदैमा एमाले स्वत: सफल नहुने उल्लेख गर्दै उनले वैकल्पिक शक्तिको निर्माणलाई समेत गम्भीर रूपमा लिनुपर्ने बताए । उनले भने, ‘विकल्पमा अर्को बुर्जुवा शक्ति तयार गरिँदैछ ।’
पार्टीको पछिल्लो अवस्थाको समीक्षा गर्दै उनले आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनुलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे । पार्टी पुनर्गठनको बहस व्यक्ति केन्द्रित बन्दै जाँदा ध्रुवीकरण बढेको उनले बताए ।
उनले भने, ‘पहिला औषधिको प्रेस्क्रिप्सन, त्यसपछि रोगको डायग्नोसिस गर्न खोजेजस्तो अवस्था देखिएको छ ।’ पार्टीभित्र नेतृत्व परिवर्तनलाई मात्रै समाधान ठान्ने र पुनर्गठनको बहसलाई नै विभाजनका रूपमा बुझ्ने दुवै अतिवादी सोचले समस्या बढाएको उनले बताए ।
कार्यदलको प्रतिवेदनलाई आधार बनाएर पार्टीलाई एकताबद्ध गर्ने जिम्मेवारी नेतृत्वको भएको उनले बताए । उनले पार्टीको ध्यान सत्ता र आन्तरिक विवादभन्दा जनजीविकाका सवालमा केन्द्रित गर्नुपर्ने बताए । लोकतन्त्र, राष्ट्रिय हित र जनजीविकाको रक्षालाई पार्टीको आगामी कार्यभारसँग जोड्नुपर्ने उनको सुझाव छ ।
मिडियामार्फत तत्काल चर्चा पाउने प्रवृत्तिप्रति टिप्पणी गर्दै उनले भने, ‘मिडिया ट्रायलले एकछिनलाई न्यानो दिन्छ । मिडिया हाइपले एकछिनलाई सन्तुष्टि देला तर काम लाग्दैन ।’




प्रतिक्रिया