भारतले कालापानीबाट सेना फिर्ता लगेर भूमि फिर्ता गरोस्ः मन्त्री ज्ञवाली


काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतलाई कालापानी क्षेत्रबाट आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका छन् । मन्त्री ज्ञवालीले नेपाल र भारतबीच सीमा विवादको समाधान तुरुन्त खोज्नु पर्ने बताएका छन् ।

भारतीय पत्रिका द हिन्दुसँगको कुराकानीमा परराष्ट्रमन्त्री ज्ञवालीले कालापानीबाट भारतीय सेना फिर्ता गरी सो भूभाग नेपाललाई फिर्ता गरेको अवस्थामा मात्र सुगौली सन्धिलाई सम्मान गरेको ठहर्ने बताएका छन् ।

‘हामी सुगौलीे सन्धिको पत्र र भारतीय भावनाको सम्मान गरेको चाहन्छौं । यसको सबैभन्दा उचित तरीका भनेको कलापानीबाट सुरक्षा बलहरू फिर्ता लिनु र अतिक्रमण गरेका क्षेत्रहरू नेपाललाई सुम्पनु हो । हामीले पहिल्यैबाट भन्दै आइरहेका छौं कि नेपालको भूभागमा सडक निर्माण जस्ता एकतर्फी कार्यहरू गर्नु हुँदैनथ्यो, र यो समस्यालाई छिट्टै नै वार्ताबाट सुल्झाउनु पर्छ’, उनले भनेका छन् ।

मन्त्री ज्ञवालीले भारतले एकतर्फीरुपमा नेपालको कालापानीलगायतका क्षेत्र समेट्दै नक्सा सार्वजनिक गरेर नेपाललाई दुःखी बनाएको बताएका छन् । उनले भारतले बिगतका सहमतिको ठाडो उल्लंघन गरेको पनि बताएका छन् ।

‘भारतले एकतर्फी नक्सा सार्वजनिक गर्नु सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालको काठमाडौं भ्रमणका बेला भएको सहमतिको ठाडो उल्लंघन हो,’ मन्त्री ज्ञवालीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement