प्रविधिमैत्री कांग्रेस निर्माणको आवश्यकता छ : प्रदीप पौडेल

प्रविधिमैत्री कांग्रेस निर्माणको आवश्यकता छ : प्रदीप पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेशसँगै नेपाली कांग्रेसलाई प्रविधिमैत्री र आधुनिक पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

बिहीबार आयोजित कार्यक्रममा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सन्दीप रानालाई सम्मान गर्दै उनले राजनीति अब पूर्ण रूपमा डिजिटल माध्यममा केन्द्रित हुँदै गएको बताए ।

‘हामीले डिजिटलाइजेसन आत्मसात गर्न सकेनौँ भने प्रतिस्पर्धामा टिक्न सक्दैनौँ,’ उनले भने ।

उनले कांग्रेसले अहिले सञ्चालन गरिरहेको सदस्यता अध्यावधिक अभियानलाई पार्टी सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरे । सदस्यहरूको तथ्यांक संकलन, उनीहरूको रुचि पहिचान र पार्टीसँगको सम्बन्धलाई प्रभावकारी बनाउन डिजिटल प्रणाली आवश्यक भएको उनले बताए ।

‘हामीसँग आफ्ना सदस्यहरूको पूर्ण विवरण छैन । उनीहरूको सम्पर्क, सामाजिक सञ्जालमा सक्रियता, योगदान गर्ने इच्छा यी सबैलाई व्यवस्थित गर्न डिजिटलाइजेसन अपरिहार्य छ,’ उनले भने ।

पौडेलले परम्परागत प्रचार शैली अब पर्याप्त नभएको उल्लेख गर्दै अहिलेका निर्वाचनहरूमा प्रचारको स्वरूप नै बदलिएको बताए । ‘पहिलेजस्तो पम्प्लेट, जुलुस र आमसभा मात्रै गरेर पुग्दैन । नयाँ माध्यममार्फत जनतासम्म पुग्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा उनले पाल्पा जिल्लामा नेपाली कांग्रेसले लामो समयपछि हासिल गरेको विजयलाई उल्लेख गर्दै त्यसका लागि कार्यकर्ता र मतदातालाई धन्यवाद व्यक्त गरे । पाल्पा लोकतन्त्रप्रति प्रतिबद्ध नागरिकहरूको जिल्ला भएको र त्यहाँ पार्टीले पुन: विश्वास जित्नु महत्वपूर्ण उपलब्धि भएको उनले बताए ।

सांसद रानाको योगदानको प्रशंसा गर्दै उनलाई मेहनती, प्रतिबद्ध र शालीन नेताका रूपमा उनले चित्रण गरे । पार्टीका अभियानमा निरन्तर सक्रिय रहँदै आएका कारण उनले जिम्मेवारी प्राप्त गरेको उनको भनाइ थियो ।

पौडेलले वर्तमान सरकारप्रति कडा टिप्पणी पनि गरे । दुईतिहाइ बहुमतसहित बनेको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको, संसद सञ्चालनमा कमजोरी देखाएको र अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप उनले लगाए ।

‘यति शक्तिशाली सरकार भएर पनि संसद् प्रभावकारी रूपमा चलाउन नसक्नु गम्भीर विषय हो,’ उनले भने ।

मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको भन्दै उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले आम नागरिकको जीवन कष्टकर बनाएको बताए । ‘डिजेल, पेट्रोल र ग्यासको मूल्य बढ्दा त्यसले भान्सादेखि दैनिक जीवनसम्म असर गर्छ,’ उनले भने, ‘सरकारले कर घटाएर मूल्य स्थिर राख्नुपर्थ्यो, तर त्यसमा ध्यान दिइएन ।’

सुकुमबासी बस्ती व्यवस्थापनका विषयमा पनि उनले सरकारको आलोचना गरे । बस्ती हटाउँदा पर्याप्त पूर्वसूचना नदिएको र वैकल्पिक बसोबासको व्यवस्था नगरेको भन्दै उनले उक्त कदमलाई अमानवीय भएको टिप्पणी गरे । ‘राज्य अभिभावक हो । वास्तविक सुकुमबासीलाई विकल्प दिएर मात्र बस्ती हटाउनुपर्थ्यो,’ उनले भने ।

संसद् आह्वान गरेर पुन: स्थगित गर्ने सरकारको कदमप्रति पनि उनले प्रश्न उठाए । ‘दुईतिहाइ बहुमत भएको सरकारले संसदबाट विधेयक पास गर्न किन सक्दैन ?’ उनले प्रश्न गरे ।

पौडेलले लोकतन्त्र, संविधान र विधिको शासनलाई कमजोर पार्ने कुनै पनि कदमप्रति नेपाली कांग्रेसले सशक्त रूपमा आवाज उठाउने स्पष्ट पारे । ‘राम्रो काममा हामी समर्थन गर्छौँ तर गलत काममा खबरदारी गर्नु हाम्रो जिम्मेवारी हो,’ उनले भने ।

उनले पार्टीलाई संगठित, आत्मविश्वासी र जनतामुखी बनाउँदै आगामी निर्वाचनमा सफलता दोहोर्‍याउने गरी अघि बढ्न सबै कार्यकर्तालाई आह्वान गरेका छन् ।