वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) उपमहासचिव एवं संघीय खानेपानीमन्त्री प्रदीप यादवले विचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरूसँग सहकार्य तथा एकीकरण गर्न सकिने बताएका छन् ।
आईतबार पर्साको वीरगञ्जस्थित पुजन होटलमा आयोजित जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘हामी देश र पिछडिएका जनताको पक्षमा वकालत गर्नसहित देश विकासका लागि राजनीतिमा होमिएका छौं । विचार र मुद्दा मिल्ने समूह, दल, शक्तिहरूसँग सहकार्य तथा एकीकरण गर्न सक्छौं ।’
मन्त्री यादवले आमनागरिकलाई सर्वोपरि ठानेर मधेशका मुद्दा एवं देशभरका नागरिकका समस्या समाधानका लागि जसपाले उल्लेख्य भूमिका निर्वाह गरिरहेको बताए । उनले भने, ‘हाम्रा लागि जनता सर्वोपरि हुन् । जनताको विकास र जीवनस्तर उकास्न हामी कहिल्यै पछि पर्ने छैनौं ।’
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा पनि सहभागी भएपछि लोकप्रिय, जनमुखी र परिणामदायी काम भइरहेको मन्त्री यादवले दाबी गरे । उनले भने, ‘हामी सरकारमा सहभागी भएपछि नागरिकका खानेपानीका थुप्रै समस्या समाधान गरेका छौं, कतिपय काम अझै गर्न बाँकी छ । देशभरका खानेपानीका समस्या समाधान गरेर छाड्नेछौं ।’
‘नेपाली नागरिकको विकास, हक हितका लागि जसपा जन्मिएको हो । ढुक्क हुनुस्, मधेशसहित समग्र देश विकास अब जसपाले गर्छ,’ मन्त्री यादवले भने । नेपाली नागरिकका समस्या समाधानका लागि सिंगो पार्टी लागिपर्ने उनको भनाइ थियो ।
एक छुट्टै प्रसङ्गमा मन्त्री यादवले खानेपानीको लागि पर्याप्त बजेट नहुँदा देशभरमा आम उपभोक्तालाई सहज रूपमा शुद्ध खानेपानी पुर्याउन समस्या भएकाले आगामी आर्थिक वर्षको बजेटमा शतप्रतिशत नागरिकको घरघरमा शुद्ध अनि सफा खानेपानी पुग्ने गरी बजेट विनियोजन गराउने बताए ।
उनले भने, ‘मैले मन्त्रालय सम्हालेदेखि देशका दुर्गम क्षेत्रमा खानेपानीका समस्याका विषयमा स्थलगत निरीक्षण गरेको छु । पानीको निकै समस्या रहेको पाएको छु । वर्तमान सरकार अगामी बजेटमा हिमाल, पहाड र तराईका नागरिकमा खानेपानीको पहुँच पुग्ने गरी बजेटको व्यवस्थापन गर्नेछ ।’
काठमाण्डु उपत्यकामा बाह्रै महिना पानी खुवाउनका लागि सबै प्रक्रिया भइसकेकाले अब आउँदो वर्षातको समयमा मेलम्चीको पानी बन्द नगरिने समेत जानकारी गराए । आफू मन्त्री भएपछि देशभरका खानेपानीका रोकिएका आयोजनाहरू पुनः सञ्चालनका लागि काम भइरहेका र नयाँ आयोजनाहरू निर्माणका लागि टेण्डर आह्वान गरिने कार्य समेत भइरहेको उनले जिकिर गरे । वर्षातको समयमा बाढी पहिरोका कारण करोडौंका खानेपानी योजनाहरूमा क्षति पुगेकाले क्षति भएका ती खानेपानीका आयोजनाहरू पुनर्निर्माणका लागि तीब्रगतिमा काम सुरु भइरहेको मन्त्री यादवले बताए ।
सुर्खेत, लुम्बिनी लगायतका क्षेत्रमा खानेपानीका ठूला आयोजनाहरू आफ्नै कार्यकालमा सुरु भएकाले धरानको खानेपानी समस्या समाधानका लागि पनि आफूले पहल चालेर ६ अर्ब रकमको टेण्डर यसै वर्षभित्र आह्वान गराउने मन्त्री यादवले बताए ।
कार्यक्रममा अध्यक्ष अशोककुमार राई, संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री प्रदीप यादव, उपाध्यक्ष सुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव वीरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झाको सहभागिता छ ।
प्रतिक्रिया