वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर साउन महिनाभित्रै आह्वान हुन्छ : मन्त्री यादव

वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर साउन महिनाभित्रै आह्वान हुन्छ : मन्त्री यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर आह्वान गरिने बताएका छन् ।

सोमबार खानेपानी मन्त्रालय सिंहदरबारमा वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले वीरगञ्ज महानगरपालिकामा एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालन गरिने खानेपानीका आयोजनाहरूको निर्माणका लागि एडीबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर आह्वान गरिने बताए ।

उनले भने, ‘एडीबीको ऋण सहयोगमा सञ्चालन हुने कूल १२ वटा आयोजनामध्ये, पहिलो चरणमा कम्तिमा ६ वटा आयोजनाहरूको तत्काल सुरुवात गर्ने गरी काम अघि बढाउने छौं । यसका लागि सम्बद्ध सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइनेछ ।’

खानेपानी मन्त्रालय, वीरगञ्ज महानगरपालिका लगायत सबै सरोकारवालाहरूकोे साझा प्रयासले वीरगञ्ज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने मन्त्री यादवले विश्वास व्यक्त गरे ।

सोमबारको छलफलले सकारात्मक परिणाम स्वरूप, आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिकामा सञ्चालन गरिने खानेपानी आयोजनाहरूको निर्माणका लागि एडीबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर आह्वान गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

सोमबारको छलफल कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई. मीना श्रेष्ठ, ई. रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल लगायतका कर्मचारीहरूको सहभागिता थियो ।