साढे सात करोड चन्दा प्रकरण: प्रकाण्डको सम्पत्ति छानबिन गर्दै सरकार


काठमाडौं–सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दोस्रो वरियतामा रहेका नेता तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सम्पत्ति छानबिन थालेको छ।

सात करोड ५६ लाख चन्दा संकलन गरेको आरोपमा प्रहरीले उनलाई २२ साउनमा पक्राउ गरेपनि प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै छोरा नरेन्द्रबहादुरले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वाेच्चले रिहा गर्न आदेश दिएको थियो। त्यसपछि पनि प्रहरीले विभिन्न मुद्दामा पटकपटक पक्राउ गरेपनि उनी रिहा हुँदै आएका थिए।

तर, पछिल्लो समय सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनीविरुद्ध सम्पत्ति छानबिन गरिहेको हो। विभागले अनुसन्धान अधिकृत नै तोकेर प्रकाण्डको सम्पत्ति केलाउन थालेको हो। पाँच करोड विभिन्न शीर्षकमा खर्च भए पनि अहिले विश्वकर्मासँग दुई करोड रुपैयाँ रहेको प्रहरीको दाबी छ।

गत साउनमा पक्राउ परेको प्रकाण्डको डायरीमा मुख्य आर्थिक सहयोगी भनेर उल्लेख गरिएको बताइएको थियो। जुन डायरी प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाइएको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गरेको उनको दलले विभिन्न ठाउँमा विस्फोटसमेत गराएको थियो। त्यतिखेर प्रकाण्डले चन्दा बटुलेको अनुसन्धानमा देखिएको छ। उनले विभिन्न व्यापारी, विद्यालय, उद्योग कलकारखानाबाट चन्दा लिएको अनुसन्धानमा देखिएको एक प्रहरी अधिकृतले बताए।

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकले सबैभन्दा बढी साना उद्योग तथा कलकारखानाबाट चन्दा उठाएको देखिएको आशंका छ।

गत शुक्रबार मात्र ललितपुर नक्खुस्थित दूरसञ्चार सेवा प्रदायक एनसेलको कार्यालय नजिकै बम विस्फोट भएको थियो। बम विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो। दुई घाइते भएका थिए। र, देशका अन्य क्षेत्रमा पनि बम विस्फोट भएको थियो।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनामा संविधान र राज्यविरोधी समूह, विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पाइएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement