काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेका बताएका छन् ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कांग्रेस पदाधिकारी बैठकमा उनले गृहमन्त्री रमेश लेखक निर्दोष रहेका बताए ।
उनले अफवाहको शिकार कांग्रेसकै नेताहरू समेत भएको बताए । उनले भिजिट भिसा प्रकरणलाई आधार मानेर संसद् अवरोध गर्नुपर्ने आधार नभएको बताए । यस विषयमा यथार्थ अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने वा गहिराइमा पुग्नुपर्ने बताए ।
उनले भने, ‘यस्ता विषमा संसद् अवरोध गर्नुपर्ने कुनै आधार नै छैन । छानबिनको दायरामा उहाँ हुनुहुन्छ । आरोपित गरेर मुद्दा दर्ता गरिएको अवस्था छ ? बिना आधारमा सामाजिक सञ्जालमा फैलाइएको अफवाहकै आधारमा संसद् अवरोध हुन थालेको छ । कहीँ पनि यस्तो गर्न मिल्दैन ।’
उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी नै परेको अवस्था रहेकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको उल्लेख गर्दै लेखक र लामिछानेको विषय एउटै नभएको बताए ।
उनले भने, ‘उहाँ (रवि लामिछाने) सँग जोड्न मिल्दैन । उहाँमाथि आरोप आयो, उजुरी आयो । त्यसकारण हामी संसदीय छानबिन माग गरेका हौं । यहाँ त न कुनै आरोप छ, न आधार छ । आरोपकै भरमा हामीले पनि निष्कर्ष निकाल्ने कुरा भएन ।’
प्रतिक्रिया