निर्माण व्यवसायीको बाँकी रकम दशैं अगाडि नै भुक्तानी हुन्छ : अर्थमन्त्री महत


चितवन – अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक संकट चरम अवस्थामा पुगेको भन्नु बाहिरी हल्ला मात्रै भएको दाबी गरेका छन् ।

चितवनमा पत्रकारसँगको छलफलमा मन्त्री महतले केही हदसम्म समस्या भए पनि बाहिर देखिएजस्तो आर्थिक संकट नभएको बताए ।

निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दशैंअघि उपलब्ध गराइने उनले बताए । सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दशैं अगाडि नै भुक्तानी हुने उनले बताए ।

‘असार मसान्तसम्म ६०–७० अर्ब तिरिसकेका छौं । अब ६–७ अर्ब जति बाँकी होला, त्यो भुक्तानी हुन्छ,’ उनले भने ।

पहिला राष्ट्र बैंकले सहज रूपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतले बताए । ‘सहज रूपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ, कहाँ आउँदैन नहेरी लगानी भयो । त्यसको असर अहिले देखियो,’ उनले भने ।

अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढेको र उत्पादन पनि नहुँदा केही व्यवसायीलाई समस्या परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement