सरकारलाई लोहनीको सुझावः चीन र भारतसँग त्रिपक्षीय वार्ता गर्नूस्


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष  डा. प्रकाशचन्द्र लोहनीले सीमा समस्याका विषयमा जनतालाई सरकारले गुमराहमा राखेको बताएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा बोल्दै डा. लोहनीले सीमा समस्या समाधानका विषयमा जनतालाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

अध्यक्ष लोहनीले राष्ट्रिय स्वार्थलाई सरकारले हेलचेक्र्याई गरेको भन्दै जनताले त्यो स्वीकार गर्न नसक्ने बताए ।

‘तपाईहरुले लिपुलेक र लिम्पियाधुराको बारेमा नेपालको राष्ट्रिय स्वार्थलाई हेलचेक्रायाई गर्नु भएको हो । यसलाई नेपाली जनताले स्वीकार गर्दैनन् अब वार्तामा जानुहोस् । सो क्षेत्र हाम्रो हो भन्ने पर्याप्त प्रमाण छन्’, काठमाडौंपाटीसँग कुरा गर्दै डा. लोहनीले भने, ‘त्यसको आधारमा वार्ता गर्नुहोस् यथार्थ कुरा के हुन्छ नेपालको संसद र संसदीय समितिहरुलाई स्पष्ट जानकारी दिई नेपाली जनताको विश्वास लिनुहोस् । राष्ट्रिय स्वार्थको विषयमा राजनीति नगर्नुहोस् । नेपाली जनतालाई विश्वासमा लिएर काम गर्नु भएमा राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव साथ दिन तयार छ ।’

उनले चीन र भारतसँग नेपालले त्रिपक्षीय वार्ता गर्नुपर्ने र व्यापार मार्गको फाइदा नेपालले पनि पाउनुपर्ने बताएका थिए ।

‘लिपुलेकको विषयमा पनि चीन र भारतसँग कुरा गर्नु पर्यो त्यो व्यापार मार्गको फाइदा नेपालले पनि पाउनुपर्छ भनि त्रिपक्षीय वार्ता हुनुपर्दछ । आफ्नो स्वामित्वमा रहेको भूमिको सन्र्दभमा वार्ता गर्न सररकारलाई सबै नेपाली जनताको साथ र सहयोग रहन्छ’, उनले भने ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतलाई छलफलमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement