जनता सचेत हुँदैछन्, नेपालमा वैकल्पिक शक्तिको उदय निश्चित छ : प्रकाशचन्द्र परियार (अन्तर्वार्ता)


काठमाण्डु – नेपाललाई विकास र समृद्धिको यात्रामा अघि बढाउन सन् २०१७ मा उदय भएको विवेकशील साझा पार्टी खासगरी राजनीतिको परिभाषा नै परिवर्तन गर्ने अभियानमा लागेकाे छ ।  गलत राजनीतिक संस्कारको शुद्धिकरण अभियानमा लागेको विवेकशील साझा पार्टी राजनीतिलाई नीतिहरुको पनि सर्वश्रेष्ठ नीति मान्दछ ।

विवेकशील साझा पार्टीको केन्द्रीय सचिवालय सदस्य प्रकाशचन्द्र परियार नेपालमा वर्षौंदेखि अभ्यास गरिरहेका दलहरुले जहिले पनि शासन प्रशासनमा गएर राज्य दोहन गरेको बताउँछन् ।

पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका परियार नेपालमा बैकल्पिक शक्तिको उदय निश्चित भएको बताउँछन् । प्रस्तुत छ नेपालमा वैकल्पिक शक्तिको आवश्यकता, पुराना राजनीतिक दललगायतका विषयमा केन्द्रीत भएर युवा नेता परियारसंग काठमाण्डुपाटीले समसामयिक विषयमा गरेको कुराकानीको संक्षिप्त अंशः

वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको विवेकशील साझा पार्टीले के काम गर्दैछ ?

अहिले नेपालमा वैकल्पिक दलको रुपमा उदय भएको दल मध्ये विवेकशील साझा पार्टी खासगरी राजनीतिको परिभाषा नै परिवर्तन गर्ने प्रयास गरिरहेको छ । राजनीति भन्नेबित्तिकै फटाहा, चोर, डाका र तस्करहरुको संरक्षण गर्ने भन्ने परिभाषा स्थापित गरिएको छ, त्यो होइन् । राजनीति भनेको नीतिहरुको पनि सर्वश्रेष्ठ नीति हो । राजकाज शासन, प्रशासन र राज्य सञ्चालनको सबैभन्दा विशिष्ठ थलोलाई यतिधेरै विकृत बनाइयो कि राजनीति भनेको भ्रष्टाचार, नाफावाद गर्ने थलाेकाे रूपमा बुझिन्छ ।

शासनमा पुगेपछि राज्य दोहन गर्ने भाष्य निर्माण गरेपछि मानिसहरुले आफ्ना भोकमरी, विभेद, गरिबीविरुद्ध आवाज उठाउनका लागि समन्वयकर्ताको अभाव महसुस गरे । हामीले विरोधका शैलीहरु परिवर्तन गरेका छौं ।

त्यसको भाष्य परिवर्तनका लागि हामीले सुसंस्कृत राजनीति, समतामूलक समृद्धि भन्यौं । सुसंस्कृत राजनीतिमा, समतामूलक समाज, सामाजिक न्याय, लोकतन्त्र, मानव मर्यादा, समावेशीकरण, स्वाभिमान र आत्मसम्मान हुन्छ । जनताको जीवनस्तर केन्द्रबिन्दुमा राखेर विकास, समृद्धि, शुसासन, सामाजिक न्याय र स्वाभिमानको यात्रा अगाडि बढ्छ ।

नेपालमा वर्षौंदेखि रजगज गरिरहेका दलहरुले जहिले पनि शासन प्रशासनमा गएर राज्य दोहन गरे । शासनमा पुगेपछि राज्य दोहन गर्ने भाष्य निर्माण गरेपछि मानिसहरुले आफ्ना भोकमरी, विभेद, गरिबीविरुद्ध आवाज उठाउनका लागि समन्वयकर्ताको अभाव महसुस गरे । हामीले विरोधका शैलीहरु परिवर्तन गरेका छौं । परम्परागत शैलीका विरोधहरुले यो देशको समृद्धिको यात्रा सम्भव छैन् । नेपाल बन्द, चक्काजाम, हड्ताल, टायर बाल्ने, प्राध्यापकहरुलाई कालोमोसो दलेर कत्लेआम गर्ने यस्ता विकृतिले देशलाई समृद्धिको बाटोमा पुर्याउँदैन भनेर हामीले रचनात्मक खबरदारीको सुरुवात गरेका छौं ।

अब अन्य राजनीतिक दलहरुले पनि सोही किसिमको खबरदारी गर्नुपर्छ । त्यो सम्भव छ । रचनात्मक खबरदारी भनेको आफ्ना मागहरु प्रष्टताका साथ मिडियामा सांकेतिक तवरले, कलात्मक प्रस्तुतीले राखेर जनतालाई दुःख नदिई गर्ने विरोध, खबरदारीको शैली हामीले गरिरहेका छौं । त्यसकारण हामीले कुनै पनि सरकारले गरेका खराब पक्षहरु, सरकारले गरेका खराब प्रवृतिविरुद्ध आलोचनात्मक र रचनात्मक विरोध गरेका छौं । कही पनि विवेकशील साझा पार्टीले नेपालमा सडक जाम, चक्काजाम गरेको छैन् ।

के सबै परिवर्तन टाउको काटेर हुन्छ भनेर गयो भने सँधै हामी टाउकै काटेर बसिरहने ? त्यो चरण गयो । विप्लवलाई पनि हामीले स्वागत गर्यौं त ! प्रतिष्पर्धी राजनीतिमा म आउँछु भन्न पाइयो नि ।

अहिले संरचनात्मक रुपमा दलहरुले ठूला–ठूला गल्ती गरेका छन् । त्यो गल्ती भनेको उनीहरले दलैपिच्छेको ट्रेड युनियन खोलेका छन् । हामीले नेपाली जनताको कर खाएर जागिर गरिरहेका कर्मचारी, शिक्षक प्राध्यापकहरुलाई साधारण सदस्य पनि दिँदैनौं । हामीले नेपालमा एउटै आधिकारिक ट्रेड युनियन हुनुपर्छ दल नै पिच्छेको ट्रेड युनियन नेपालले धान्न सक्दैन भनेका छौं ।

व्यवसायिक हक हितका लागि एउटा आधिकारिकता चाहिन्छ तर, दलै पिच्छेको पत्रकार, कर्मचारी, वकिल, शिक्षक, इञ्जिनियर, डाक्टरहरुको संस्थाले विचौलियाको काम गरिरहेको छ । यो बन्द हुनुपर्छ । एउटा आधिकारिक ट्रेड युनियनमार्फत व्यवसायिक रुपमा आफ्नो उम्मेद्वारी दिन सक्छन् तर, भातृ संस्था बनाएर एउटा सरकारी कार्यालयमा सात वटा बोर्ड झुण्डाउने खराब अभ्यासको अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो । विवेकशील साझा पार्टीले त्यस्तो कार्य बन्द गरेको छ ।

विगतमा जनताको अधिकारका लागि जनयुद्ध लडेकाहरुले नै जनताको मुद्दालाई अपमान गरे । तपाईहरुको रचनात्मक र शान्तिपूर्ण परिवर्तनले जनताको अधिकार रक्षा गर्न सम्भव छ ?

ढिलो चाँडो होला तर, सम्भव बनाउनुपर्छ । के फेरि मानिसहरुलाई कत्लेआम गर्ने ? सहीद बनाउने ? अंगभंग, बेपत्ता बनाउने ? भाैतिक विकास संरचनाकाे नाश गर्ने ?  हामीले नेपालको संविधान २०७२ तपाई हामी सबै नेपालीको सुभेच्छा, सद्भाव, आन्दोलन क्रान्तिको जगमा आयो । एउटा अधिकार, सामाजिक न्याय र स्वतन्त्रताको दस्तावेजीकरण हामीले गर्यौं । अबका आवश्यक सुधारहरु संविधान संशोधनबाटै गर्न सकिन्छ भनेर विवेकशील साझा जन्मियो ।

विकास गर्न समृद्धि ल्याउनलाई नेपाली जनताको जीवनस्तर सुधार्नलाई अर्को क्रान्ति चाँहिदैन, अबकाे क्रान्ति भनेकै शुशासन, विकासकाे साथमा समृद्धी हाे । अहिलेको परिस्कृत लोकतन्त्र, समावेशी र उन्नत लोकतन्त्रबाटै अभ्यास गर्न सकिन्छ । काटमार गरेर, नेपाल बन्द, चक्का जाम, आफ्ना विपक्षीको हत्या, प्रपञ्ज गर्ने युगको अन्त्य भयो । अब त्यहाँ फर्किनु भनेको तीन चार दशक पछाडि पर्नु हो । के अब हामीलाई तीन चार दशक पछाडि पर्न सम्भव छ ? यसले राष्ट्रिय समृद्धिको राजमार्गको यात्रामा असर गर्छ । त्यसकारण हामीले अहिले अधिकार थप्नुपर्ने, समानताको अभिवृद्धि गर्नुपर्ने कुराहरु संविधान सम्मत ढंगले गरौं ।

त्यो आवाज सुन्ने सरकार बनाऔं । अथवा सरकारलाई शासक, बढप्पन होइन सेवक सरकार बनाऔं । सेवक सरकारले जनताका कुरा सुन्छ । म शासक हो भनेर अहंकारी दम्भको कुरा गर्दैन । सेवक सरकारले जनता केन्द्रीत काम गर्छ । त्यसकारण हामीले सेवक सरकार भनेका छौं । हामीले स्वाभिमानी विवेकी जनता, उद्यमशील समाज निर्माण, सामाजिक न्यायलाई अभिवृद्धि गर्ने, समतामूलक समृद्धिलाई सम्बोधन गर्ने कुरा गरेका छौं । जब अहिलेको संविधानबाट हामीले विकास र समृद्धिको यात्रालाई अघि बढाउन सकिन्छ भने फेरि काटमार, ध्यंश कत्लेयुगमा पुगेपछि के हुन्छ ? यसको प्रत्यक्ष उदाहरण त माओवादी नै छ नि ।

तत्कालिन माओवादीले जब जनतालाई डेलिभरी दिनेबेला भयाे भ्रष्टाचार र नाफावादमा चुर्लुम्म डुब्याे । उनीहरूले अहिले फेरि जंगल जान्छु नत्र टाउको काट्छु भनेर धम्कीयुक्त भाषा प्रयोग गर्न थालेका छन्,  याे दुर्भाग्य हाे । हिजो केपी अ‍ोलीहरुले झापामा ढकाल बन्धुहरुको टाउको काटेर सुरु गरे । के सबै परिवर्तन टाउको काटेर हुन्छ भनेर गयो भने सँधै हामी टाउकै काटेर बसिरहने ? त्यो चरण गयो । जनयुद्धका नराम्रा पाटाहरु धेरै होलान । तर, मूलधारको राजनीतिमा आएर म प्रतिष्पर्धी राजनीति गर्छु, लोकतन्त्र मान्छु भनेपछि हामीले सम्मान गर्नुपर्यो । विप्लवलाई पनि हामीले स्वागत गर्यौं त ! प्रतिष्पर्धी राजनीतिमा म आउँछु भन्न पाइयो नि ।

अझै पनि पुराना राजनीतिक दलहरुले नै देशको परिवर्तन गर्छन भन्ने जनतामा छाप परेको छ । तपाईहरु जनतालाई कसरी कन्भिन्स गर्नुहुन्छ ?

जनता विस्तारै कन्भिन्स हुँदैछन् । याे सजिलाे छैन् त्यो हामीले बुझेका छौं । तर, राजनीतिक दलको दायित्व भनेको जनतालाई विस्तारै सचेत बनाउँदै जाने हो । उहाँहरुलाई उद्देलित र इन्करेज गर्दै जाने हो । उहाँहरुलाई अहिलेका विकृति विसंगतीको भण्डाफोर गर्दै जाने हो । भ्रष्टाचारले यो देश चुर्लुम्म डुबेको छ भनेर उहाँलाई झस्काइरहने हो र जनतालाई हिजो रैती, रंक र प्रजा बनाइएकाे थियाे, हामी नागरिक बनाउने प्रयासमा हामी छौं । जब नागरिक भएर आफ्ना अधिकारको अभ्यास गर्ने सोच बनाइसकेपछि विस्तारै बुझ्नुहुन्छ । उहाँहरुलाई पराम्परगत दलहरुले यति अफ्ठ्यारो पार्नुभएको छ कि राजनीतिक दल बेगर सासै फेर्न सकिँदैन, लासै उठाउन सकिँदैन भनेर मानसिक रूपमा दास बनाइएको छ ।

त्यो मानसिकतालाई हामीले विस्तारै तोड्दैछौं । त्यसलाई तोड्न विस्तारै समय लाग्छ । तर, हजार माइलको यात्रा एक पाइलाबाटै गर्नुपर्छ । हामीले जे गरिरहेका छौं नेपालको धरातलीय यथार्थमा गरेका छाैं, यो चानचुने अभ्यास होइन । यस्तो जब्बर राजनीतिक संस्कार भएको ठाउँमा हामीले खुलेआम खबरदारी गर्ने हैसियत बनाएका छाैं ।  हामीले गरेको राजनीति सुसंस्कृत, विकास केन्द्रित, समतामुलक राजनीति हो । सामाजिक न्यायलाई केन्द्रबिन्दु बनाएको राजनीति भएकाले हामीले हाम्रा पार्टीमा इमान, जमान, क्षमता, केही गरौं र यो देशलाई समृद्धिको यात्रामा लैजाउँ भन्ने भावना भएका मानिसहरु, समय, विचार, पैसा र समाज रुपान्तरणमा योगदान दिन्छु भनेका मानिसहरुलाई हामीले संगाल्दै, समेट्दै सहकार्य गरेर ल्यायौं ।

जनतामा परम्परागत दलहरुको विकल्प आइसक्यो । उनीहरुलाई हामीले खुलेर सहयोग गर्नुपर्छ भन्ने भावनाकाे विकास भइरहेकाे छ । हाम्रो संगठन मधेश, पहाड, हिमाल, खेत खलियानमा प्रवेश गरिरहेको छ । आक्रामक रुपले हामीले सोचेजस्तो भएन होला । तर, चुप लागेर बसेका छैनौं । मानिसहरु आकर्षित भइरहेका छन् । विदेशबाट रगत पसिना बगाइरहेका नेपालीहरुले हामीलाई पैसा दिएर, भोट दिएर र नेपालमा आएर संगठित भएर हामीसँग सहकार्य गरिरहनु भएको छ । उहाँहरुले यो देशमा आफूलाई खाडीमा पठाएर त्यहाँको रेमिट्यान्सबाट शासक, प्रशासकले कसरी राज्य दोहन गरिरहेका छन् त्याे उहाँहरुले राम्ररी देख्नुभएकाे छ ।

जनताहरु पनि विवेकशील साझा पार्टीलाई तन, मन, धन र मतसहित सहयोग गर्यौं भने भ्रष्टाचारको बाटो बन्द हुनेमा विश्वस्त भइसकेका छन् ।

उहाँहरुले राम्रो संरचना नभएको, हावापानी राम्रो नभएको, मरूभूमि देशमा पनि सरकारले विकास गरेको देखिसक्नु भएको छ । भौगोलिक विविधताले भरिएको देश, जातजाती, भाषाभाषी, धर्मले विविधता भएको फुलबारी जस्तो देशलाई बर्बाद बनाउने पुराना राजनीतिक दलहरुको अवसान जरुरी छ भनेर हामीलाई सहयोग गरिरहनु भएको छ । उहाँहरुले तपाईहरुले खुट्टा टेक्नुपर्यो, राजकाज प्रशासन, संसदमा आउनुपर्यो, तपाईहरु छिटो डेलिभरी गर्ने ठाउँमा आउनुपर्ने भनिरहनु भएकाे छ । हामीले पनि प्रयास गरिरहेका छौं ।

यो प्रयास ७० वर्षदेखि जरा गाडिरहेको राजनीतिक दलहरुसँग एकैचोटी चुनौती गर्न सजिलाे छैन् । तर, यो आधा दशकमा हामीले जे प्रयास गर्यौं परम्परागत दलका खराब नेताहरुको ड्यांग्रो बजेको छ । उहाँहरु डराइरहनुभएको छ । हाम्रो अभियान, खबरदारी, सुसंस्कृत राजनीतिक संस्कार र रचनात्मक आलोचनाले उहाँहरुमा पनि सुधार हुन्छ भने सकारात्मक पक्ष हो । कर्मचारीतन्त्रमा सुधार भइरहेको छ । कर्मचारी सरुवा बढुवामा भागबन्डा किन गरिरहेका छौ । कामचोर कर्मचारीहरुलाई खबरदारी हामीले गरिरहेका छौं । हाम्रो कर्मचारीको भातृ संस्था छैन् । सरकारी तलब खाने कर्मचारीलाई हामी सदस्यता दिँदैनौं । न्याय क्षेत्रमासमेत कम्युनिष्ट, कांग्रेसका न्यायाधीशहरु बनाइएका छन् ।

हामीले त्यसको सुरूदेखि नै विरोध गरिरहेका छौं । संवैधानिक निकायहरुमा ‘भागशान्ति जय नेपाल, मिली भगत लाल सलाम, बोलो मधेश लुटो मधेश’ जो गरिरहनु भएको छ यसले नेपालको भविष्य अन्धकारमा लगिरहेको छ । सेटिङमा अदालत, दलबाट प्रभावित, कार्यपालिकाबाट प्रभावित, विचौलियाको साँठगाँठबाट प्रभावित अदालतले कस्तो न्याय दिन्छ ? आखिर डा. रामवरण यादव, ज्ञानेन्द्र शाह र प्रकाशचन्द्र परियारले अन्याय पाए भने जाने ठाउँ त अदालत नै हो । जब अदालतमा कुनै गोजीबाट झिकेको मान्छेहरु, विचौलिया र दलिय एजेण्टको बिगबिगी हुन्छ र हामीले त्यसमा लाहछाप लगाउँदै जाने हाे भने न्याय  पाउन कति कठिन हुन्छ कल्पना गर्न सक्नुहुन्छ ।

त्यसकारण हामीले संवैधानिक निकाय र अदालत, राजनीतिक नियुक्तिमा भागबन्डा होइन समावेशीता, इमानजमान क्षमता, दक्षता र देशको मुहार फेर्न सक्ने अठोट भएका स्वतन्त्र व्यक्तिलाई मापदण्ड बनाएर लैजानुपर्छ भन्याैं ।  न्यायालयभित्रको भागबन्डा अन्त्य हुनुपर्छ भनेर हामीले निरन्तर खबरदारी गरिरहेका छौं । हाम्राे सानो स्वर होला, थोरै दुई चार सय मानिसहरुले मात्रै खबरदारी गर्यौंं होला तर, यो चानचुने मानिसहरुको जमात होइन । विवेकशील साझा पार्टी सामान्य भुईँमान्छेदेखि प्रोमिनेन्टसम्मको शुभेच्छा पाएको समूहले खबरदारी गरिरहेकाे छ । त्यसैले हामीलाई विश्वास छ । केही परिवर्तनको छनक आइसकेको छ । पैसा, जात र धर्मको बलमा मात्रै राजनीति गर्छु भन्नेहरुका लागि इमान,  जमान र क्षमतावानले पनि राजनीति गर्न सक्छन् भन्ने सन्देश गएकाे छ ।

७० वर्षदेखि जरा गाडेर बसेका पुराना राजनीतिक दलहरुको अवसान गरेर नेपालमा वैकल्पिक शक्तिको उदय हुनेमा विश्वस्त हुनुहुन्छ ?

हामी विश्वस्त मात्रै हाेइन पूर्ण विश्वस्त छाैं । हामीले यतिधेरै माया पाएका छाैं । हामीले थाेरै अभ्यास नै गर्ने माैका पनि पायाैं । चुनाव चिन्ह नै नपाई बागमती प्रदेशमा तेस्रो दल भयौं । यो कति सचेत ठाउँ रहेछ । काठमाण्डु उपत्यकामा रमित महर्जन, शोभा शाक्य, किशोर थापा, रञ्जु दर्शना,  प्रकाशचन्द्र परियार, निरुपमा यादवहरुले पाएकाे भोट भाेट मात्रै हाेइन  आशाको सन्देश हो । रवीन्द्र मिश्रले ल्याएको भोटको संकेत भविष्यकाे संकेत हाे ? हामी विश्वस्त छौं । समय लाग्न सक्छ ।

हिजो दलालहरुसँग मिलेर, गुण्डा तस्करहरुसँग मिलेर राजनीति गर्नेहरुलाई हाम्राे निरन्तर खबरदारी छ । र, नागरिकहरु सचेत बन्दैछन् । त्यसैले जनताहरु पनि विवेकशील साझा पार्टीलाई तन, मन, धन र मतसहित सहयोग गर्यौं भने भ्रष्टाचारको बाटो बन्द हुनेमा विश्वस्त भइसकेका छन् ।

डन, कालाबजारिया, भ्रष्टाचारी, हत्यारा र विचौलियाहरुको जतिछिटो अन्त्य हुन्छ त्यति छिटो शुशासन, विकास, सामाजिक न्याय, समतामूलक समृद्धि र स्वाभिमानको यात्रा सुरु हुन्छ भनेर जनताले बुझिसक्नुभएको छ । त्यसमा हामी प्रतिबद्ध छौं । नेपालमा इमान, जमान, क्षमता र सुझबुझ भएका व्यक्तिहरूले वैकल्पिक हुँदै निर्विकल्प नयाँ शक्तिको उदयकाे बाटो कोरिसकेका छन् । त्यो बाटोले गन्तव्य चुम्न दुई वर्ष, पाँच वर्ष लाग्ला  तर, सम्भव छ ।  किनकी याे आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement