गठबन्धन परिवर्तन भएर देशमा अन्योल र अस्थिरता बढ्यो : प्रवक्ता डा. महत


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताउनुभएको छ ।

सोमबार नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा राखेको अन्तर्क्रिया कार्यक्रममा डा. महतले देशमा भएको गठबन्धन परिवर्तनका कारण अन्योल र अस्थिरता सिर्जना भएसँगै वर्तमान नेतृत्व सरकारको आयु समेत छोट्टिँदै गएको बताए ।

एमालेसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने चर्चाबारे पछिल्लो समय छलफल नभएको उनले बताए । उनले भने, ‘नेताहरूले विभिन्न कुरा उठाउनुभएको छ, कसैले एमालेसँग मिलौं पनि भन्नुभएको छ । सबैको विचारहरू आइरहेका छन् । कसैले कांग्रेसको नेतृत्वमा बहुमत आउने गरी आगामी चुनाव पर्खिनुपर्छ भन्ने कुरा पनि छ । हामीले अहिल्यै वैकल्पिक सरकार बनाउने कुराको गृहकार्य गरेका छैनौं । अविश्वास र विरोधाभासका कारण यो सरकारको आयु आफैं छोट्टिँदैछ ।’

वर्तमान गठबन्धनमा रहेका दलहरूबीच नै चर्को मतभेद र अविश्वास व्याप्त रहेको उनले बताए । अस्थिरताका कारण अन्तराष्ट्रिय स्तरमै सरकारप्रति अविश्वास बढेको बताउँदै उनले पछिल्लो समय आर्थिक क्षेत्र समेत चलायमान हुन नसकेको बताए ।

कांग्रेसले गृहमन्त्री समेत रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको सहकारी ठगी विषयमा संसदीय छानबिन गर्न अडान राखिराखेको उनले बताए ।

उनले भने, ‘सहकारी ठगीबाट बचतकर्ता मारमा परेको र स्वयम् गृहमन्त्री सुरक्षा निकायको प्रमुख भएका कारण गैरकानूनीको विषय छर्लङ्गै भइसकेको छ । जुन निकायको प्रमुख उहाँ हुनुहुन्छ, उहाँलाई नै छानबिन गर्ने कुरा नभएका कारण संसदीय छानबिन बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement