काठमाण्डु-उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् । वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह आइतबार कायरो प्रस्थान गरेका हुन् ।
फोरममा विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने छ । अन्य देशबाट सहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुने छन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहनेछ ।
सहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रलाई सम्बोधन गर्नेछन् । सो क्रममा उनले नेपालले वस्ति विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र वस्ति विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउनेछन् ।
नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी सहरीकरण र वस्ति विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउने छन् ।
त्यस्तै सहरीकरणका लागि चुनौती बनिरहेको खानेपानी, सरसफाइ र सहरी पूर्वाधारको व्यवस्थापनको विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा कार्यक्रम हुँदैछ । यो फोरम सहरी विकासको क्षेत्रमा महत्वपूर्ण मानिन्छ । उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, सहरी विकास मन्त्रालयका अधिकारी भ्रमण टोलीमा सहभागी छन् । सिंह नेतृत्वको टोली आगामी शनिबार स्वदेश फर्किने छ ।
प्रतिक्रिया