काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद प्रकाश पाठकले भारतबाट ठूलो संख्यामा नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले झापा–३ का नागरिकलाई आतंकित बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पाठकले हात्तीको बथानले किसानले दुःख गरेर लगाएको धानबाली नष्ट गर्नुका साथै घर भत्काउने र जुनसुकै बेला मानवीय क्षति हुन सक्ने अवस्था सिर्जना गरेको बताए ।
उनका अनुसार जलथल जंगलमा रहेका हात्तीको बथान हल्दिबारीका सातखरेदेखि देउनियासम्मका बस्तीमा पस्ने गरेको छ । बाह्रदशीका सुन्दरपुर, सालघारी र मुजुरमारी क्षेत्रका बासिन्दा पनि हात्तीको त्रासका कारण बसाइँ सर्नुपर्ने अवस्थामा पुगेको उनले बताए । कचनकवल र भखुरपुर क्षेत्रमा पनि समस्या उस्तै रहेको उनको भनाइ छ ।
‘दर्जनौंको संख्यामा बस्ती छिर्ने हात्तीले भौतिक क्षति त गरिरहेका छन् नै, बालबालिका र वृद्धवृद्धालाई जोगाउन स्थानीयलाई निकै सकस भइरहेको छ,’ पाठकले भने ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा विद्युत् आपूर्तिसमेत कमजोर रहेको भन्दै रातको समयमा हात्तीबाट जोगिन थप समस्या भइरहेको बताए। घरमा भोल्टेज नपुग्दा बत्ती राम्रोसँग नबल्ने र सडकमा समेत पर्याप्त प्रकाशको व्यवस्था नभएको उनको भनाइ छ ।
‘मेरो क्षेत्रका नागरिक भगवान् भरोसामा बाँचेका छन्,’ उनले भने, ‘हात्ती नियन्त्रणका लागि भइरहेका प्रयास प्रभावकारी देखिएका छैनन् । अब राज्यले हेर्छ कि हेर्दैन भनेर पीडामा परेका नागरिकले नियालिरहेका छन् ।’
पाठकले हात्ती नियन्त्रणका लागि परम्परागत प्रयासभन्दा वैज्ञानिक व्यवस्थापनको आवश्यकता रहेको बताए । उनले उच्च क्षमताको प्रसारण लाइनको व्यवस्था गर्न तथा हात्ती प्रभावित क्षेत्रमा सडक बत्ती जडान गर्न पनि सरकारसँग माग गरे ।
उनले हात्तीको समस्या समाधानका नाममा अनुगमन र निरीक्षण मात्र गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए ।
‘अब अनुगमन र निरीक्षण होइन, परिणाम आउनुपर्यो,’ पाठकले भने, ‘क्षति भएकाप्रति समवेदना र सहानुभूति प्रकट गर्नुभन्दा क्षति नै हुन नदिनु राज्यको धर्म हो ।’
उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै हात्ती नियन्त्रणका लागि तत्काल प्रभावकारी र दीर्घकालीन योजना ल्याउन आग्रह गरे ।
।




प्रतिक्रिया