काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् प्रकाश पाठकले आफ्नो गृहजिल्ला झापामा विद्युत सेवा नियमित नहुँदा जनताले सास्ती पाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिर्तामोडस्थित अनारमनी ग्रिडबाट घैलाडुब्बा शवस्टेशनतर्फ जाने ३३ केभी प्रसारण लाइनको ट्रान्सफर्मरमा प्राविधिक समस्या भएका कारण पटकपटक विद्युत सेवा अवरुद्ध हुने गरेको बताए ।
उनले चुनावपछि राज्यले आफ्नो जिल्ला झापालाई चिन्न छाडेको हो ? भन्ने प्रश्न पनि गरे । विद्युत वितरण प्रणाली चुस्त राख्न कुलमान घिसिङ नै चाहिएको हो ? भन्ने पनि उनको प्रश्न थियो ।
३३ केजी प्रसारण लाइनमा जडान गरिएको ट्रान्सफर्मरमा आगलागी हुँदा त्यसअन्तर्गतका ६ वटा फिडरको विद्युत सेवा अवरुद्ध भएको उनले बताए ।
‘लामो समय बिर्तामोेड, हल्दीबारी, डाँगीबारी, चकचकी, राजगढ, घेराबारी, बनियानी, भद्रपुर र कन्काईका नागरिक विद्युत्तविहीन बन्न पुगे । प्राधिकरणले सात घण्टापछि विद्युत सेवा सञ्चालन त गर्यो । तर, अनारमनी वितरण केन्द्रबाट प्राधिकरणको विद्युत सेवा अवरुद्ध हुने सूचना दैनिक जारी भइरहेको छ । लो भोल्टेज, ओभरलोडसँगै ट्रान्सफर्मर पड्कने तथा विद्युत अवरुद्ध हुने समस्या दिनहुँ बढिरहेको छ’, उनले भने, ‘४० डिग्रीको गर्मीमा बसेका मेरो जिल्लाका नागरिकलाई चुनावपछि राज्यले चिन्न छाडेको हो ? कि विद्युत आपूर्ति प्रणाली व्यवस्थापनका लागि यो मुलुकमा कुलमान घिसिङ नै चाहिएको हो ?’
उनले नागरिकको पीडा समाधान सरकारको पहिलो कर्तव्य रहेको स्पष्ट गर्दै रकम तिरेर पनि भरपर्दो सेवा प्राप्त गर्न सकिन्न भने जो सुकैले जतिसुकै बखान गरे पनि सरकारप्रति नागिरकको विश्वसनीयता कमजोर बन्ने चेतावनी दिए ।
पाठकले सभामुखमार्फत समस्या समाधानका लागि नेपाल सरकार, ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणको ध्यानाकर्षण गराए ।




प्रतिक्रिया