जनप्रतिनिधिले काम नै गरेनन् भनेर सुनियोजित तरिकाले दुष्प्रचार भयो : मन्त्री सिंह

जनप्रतिनिधिले काम नै गरेनन् भनेर सुनियोजित तरिकाले दुष्प्रचार भयो : मन्त्री सिंह


काठमाण्डु – शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिहरूले काम नै गरेनन् भन्ने सुनियोजित तरिकाले दुष्प्रचार गरिएको बताएका छन् ।

सोमबार गोकर्णेश्वर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै उनले गोकर्णेश्वर नगरपालिकाको जस्तो राम्रो कामलाई अगाडि बढाउन सकेको खण्डमा वर्तमान व्यवस्था ठीक छैन भन्ने भ्रम पैदा गर्नेहरूलाई कडा जवाफ हुने बताए ।

उनले भने, ‘अहिले जनप्रतिनिधिहरूले काम गरेन भन्ने एउटा सुनियोजित तवरले सिस्टमले काम नै गर्न सक्दैन भन्ने दुष्प्रचार गरिरहेको छ । मलाई लाग्छ, यस्ता राम्रा काम गरेको पालिकाहरूको कामलाई अगाडि बढाएको खण्डमा यो व्यवस्था नै ठीक छैन भनेर आमजनतामा भ्रम पैदा गर्नेहरूलाई कडा जवाफ हुनेछ ।’

गोकर्णेश्वरले सेवालाई सुव्यवस्थित गरेको भन्दै उनले सबै पालिकाहरूले आधुनिक उपकरणको सदुपयोग गरेर सेवा दिने काममा गोकर्णेश्वरको देखासिखी गर्नुपर्ने बताए ।

उनले भने, ‘मलाई लाग्छ अरु नगरपालिका र गाउँपालिकाले पनि यो गोकर्णेश्वर नगरपालिकाले जस्तै सेवालाई सुव्यवस्थित गर्नका लागि, अझ सहज गर्नका लागि आधुनिक उपकरणहरूको सदुपयोग गरेर सेवा दिने काममा यसको देखासिखी गर्‍यो भने राम्रो हुन्छ ।’