जनताको चाहनाअनुसार सुविधायुक्त शहर बनाउन काम गर्छु : उपप्रधानमन्त्री सिंह

जनताको चाहनाअनुसार सुविधायुक्त शहर बनाउन काम गर्छु : उपप्रधानमन्त्री सिंह


काठमाण्डु – उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुसार सुविधायुक्त शहर बनाउन काम गर्ने बताएका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले बस्नलायक शहर बनाउनका लागि मन्त्रालयले काम गर्ने बताए ।

शहरी विकास मन्त्रालयले जनतालाई महसूस गराउने गरी काम गर्नुपर्ने भन्दै कर्मचारीहरूलाई सोहीअनुसार अघि बढ्न पनि निर्देशन दिए ।

सोमबार पदभार ग्रहणपछि मन्त्रालयका तर्फबाट ब्रिफिङ सुनेपछि मन्त्री सिंहले शहरी विकास मन्त्रालयले गरिरहेका कार्यक्रम र योजनाहरू जनतालाई एहसास गराउन सक्नुपर्ने बताए । उनले राजधानीको रिभर सिस्टमको राम्रो व्यवस्था गर्न नसकिएको र जलवायुमा परिवर्तनको असर हटाउँदै पुनर्जागृत गर्न मन्त्रालयले सक्नुपर्ने बताए । त्यसका लागि नीतिगत सुधार गर्नुपर्ने भए जानकारी गराउन पनि सिंहले निर्देशन दिए ।

सिंहले अब जनतालाई डेलिभरी गर्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै यसअघि आफूले स्थानीय विकास मन्त्री हुँदा गरेका काम अहिले शहरी मन्त्रालयले गरिरहेकाले यो मन्त्रालय आफ्ना लागि नयाँ नभएको पनि बताए । व्यवस्थित शहर बनाउन, शहरमा बस्ने वातावरण बनाउन सक्ने मन्त्रालयका रूपमा शहरी विकास मन्त्रालयलाई स्थापित गर्ने पनि सिंहले प्रतिबद्धता जनाए ।