काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले काठमाण्डुको नक्सालस्थित नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा २७ बैशाखमा पक्राउ पूर्जी जारी गरेको छ । पक्राउ पूर्जी जारी हुनेमा गणेशमान सिंहकी छोरी रिता सिंह वैद्य पनि छिन् । रिता २०४८ सालदेखि २०७७ सालसम्म बाल संगठनको अध्यक्ष बनेकी थिइन् ।
उनी अध्यक्ष भएको बेलामा संगठनले नक्सालस्थित अनाथ तथा सहाराविहीन बालबालिकाका लागि जोहो गरेको बालमन्दिर परिसरको २८ रोपनी ५ आना १ पैसा जग्गा लिजमा दिने निर्णय भएको र त्यो गैह्रकानुनी रहेको भन्दै प्रहरीले छानबिन गरिरहेको छ ।
छानबिनमा रहेको जग्गामा अहिले व्यापारिक घराना विशाल ग्रुपको अधिकांश स्वामित्व रहेका बृहस्पति स्कूल र राई स्कूल सञ्चालन भइरहेका छन् । त्यही छानबिनका क्रममा ३० वर्ष अध्यक्ष रहेकी र उनको कार्यकालभित्रै लिजमा दिइएको जग्गाबारे अनुसन्धान गर्न सिआईबीले रिताविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
पक्राउ पूर्जी जारी भएकी रिता प्रहरीको नजरमा फरार छिन् । अर्थात पक्राउ पूर्जी जारी भएको दुई महिना बढी भइसक्दा पनि उनी पक्राउ परेकी छैनन् ।
यही अवस्थामा सत्ता गठबन्धन फेरिएर नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार निर्माण भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पक्राउ पूर्जी जारी भएकी रिताका भाइ प्रकाशमान सिंह कांग्रेसको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री लिएर सरकारमा गएका छन् ।
गत सोमबार मन्त्री नियुक्त भएर आफ्नो कार्यभार सम्हालेका सिंहले बुधबार साँझ आफ्नो मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाएर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएको भन्दै आफ्नै नाममा रहेको सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गरेपछि विवादमा परेका छन् । सुरक्षा निकायसँग साइनो नै नभएको मन्त्रीले सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएको भन्दै सामाजिक सञ्जालका भित्तामा आलोचनात्मक टिप्पणी प्रशस्त आएका छन् ।
यसै सेरोफेरोमा कतै सिंहले दिदीविरुद्ध जारी भएको पक्राउ पूर्जी थामथुम पारेर अनुसन्धान रोक्नका लागि अघोषित दबाब दिन त सुरक्षा प्रमुखहरूलाई बोलाएका होइनन् भन्ने प्रश्न पनि कतिले उठाइरहेका छन् । सिंहले नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँगको छलफलमा यो विषय त उठान गरेनन् । तर, म पनि शक्तिमा छु, मलाई पनि पुछ्नुपर्छ भन्ने भाव उनले सामाजिक सञ्जालमा लेखेका शव्दले देखाउँछ ।
अधिकांशले सुरक्षा प्रम्ुखसँग सिंहको भेटलाई बालमन्दिर जग्गा हिनामिना प्रकरणसँग कतै अनुसन्धान रोक्न वातावरण निर्माणका लागि त होइन भन्ने प्रश्न भनेर आशंका गर्न सुरु गरेका छन् ।
सिआईबीका यो प्रकरणको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले आफूहरूलाई औपचारिक रूपमा दबाब नआएपछि अनौपिचारि दबाब र मनोवैज्ञानिक प्रेसर दिने काम नयाँ सरकार बनेपछि भइरहेको जानकारी दिए । नयाँ सरकार बनेपछि अनुसन्धानको क्रम पनि सुस्त भएको उनले बताए ।
प्रतिक्रिया