काठमाण्डु –सायद कुनै पनि विधानसभा उपनिर्वाचनले राज्य र राष्ट्रिय राजनीतिबारे यति धेरै सन्देश दिएको थिएन । जति बिहारको बाँकीपुर विधानसभा उपनिर्वाचनमा प्रशान्त किशोरको जितले दिएको छ ।
कागजमा हेर्दा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले भाजपाका नयाँ उम्मेदवार नीरज कुमारलाई पराजित गरेका हुन् । तर वास्तविकतामा उनले भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनलाई नै हराएका छन् ।
सन् २०१० अघि ‘पटना पश्चिम’ भनेर चिनिने यस निर्वाचन क्षेत्रबाट नितिन नवीन लगातार पाँच पटक निर्वाचित भएका थिए । त्यसपछि उनी राज्यसभामा जानका लागि सांसद पदबाट राजीनामा दिएका थिए ।
करिब ३ लाख ७९ हजार मतदातामध्ये झन्डै १ लाख ६० हजार उच्च जातिका हिन्दू मतदाता रहेको अनुमान गरिएको बाँकीपुर तीन दशकदेखि भाजपाको गढ मानिँदै आएको थियो । नितिन नवीनका बुबा पनि यसै क्षेत्रबाट लगातार चार पटक निर्वाचित भएका थिए ।
पूर्व निर्वाचन रणनीतिकारका रूपमा परिचित प्रशान्त किशोर (पीके)ले यही बलियो किल्ला निर्णायक रूपमा भत्काइदिएका छन् । यो परिणामले पहिलो पटक बिहारका मतदाता जात वा धर्मभन्दा विकासलाई केन्द्रमा राख्ने उनको वैकल्पिक राजनीतिको पक्षमा आकर्षित हुन थालेको संकेत दिएको छ ।
भाजपाका राष्ट्रिय अध्यक्षलाई नै राजनीतिक रूपमा पराजित गरेपछि प्रशान्त किशोर अहिले ‘जायन्ट किलर’ का रूपमा स्थापित भएका छन् । आगामी महिना र वर्षहरूमा उनी र उनको जन सुराज पार्टीले लालु प्रसाद यादव र तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (राजद) को स्थानमा मुख्य विपक्षी शक्तिका रूपमा आफूलाई स्थापित गर्ने सम्भावना देखिएको छ ।
तेजस्वी यादवले भने प्रभावकारी रूपमा संघर्ष गर्ने इच्छाशक्ति देखाउन सकेनन् । गम्भीर राजनीतिज्ञ भएको भए बाँकीपुर उपनिर्वाचन, जुन सम्राट चौधरी नेतृत्वको सरकारको पहिलो ठूलो राजनीतिक परीक्षा पनि थियो, त्यसको प्रचार अभियान चलिरहेका बेला उनी तीन साताका लागि विदेश भ्रमणमा जाने थिएनन् ।
भाजपाका लागि खतरा घण्टी
बाँकीपुरको यो जितले भाजपाभित्र खतरा घण्टी बजाउनुपर्ने अवस्था सिर्जना गरेको छ । यसको कारण नितिन नवीन, मुख्यमन्त्री सम्राट चौधरी वा प्रशान्त किशोर मात्र होइनन् ।
भाजपाका लागि अझ ठूलो चिन्ताको विषय भनेको उसको परम्परागत आधार मतदाता–विशेषगरी उच्च जातिका हिन्दू–बिस्तारै निराश हुँदै पार्टीबाट टाढिन थालेको देखिनु हो ।
प्रत्यक्ष रूपमा हेर्दा यो परिणाम पटना लगायतका स्थानमा भएको जेन जी आन्दोलनकै प्रभाव हो वा होइन भन्ने निश्चित भन्न सकिँदैन ।
प्रशान्त किशोरका सहकर्मी तथा निर्वाचन विश्लेषक नरेश अरोराले द हिन्दूले आयोजना गरेको वेबिनारमा भनेका थिए, ‘जेन जी पहिलो यस्तो पुस्ता हो, जसलाई जात वा धर्मका आधारमा होइन, सोच र मानसिकताका आधारमा बुझ्नुपर्छ ।’
आन्दोलनमा सहभागी विद्यार्थी र युवामध्ये सबै जना नीट–यूजी प्रश्नपत्र चुहावटबाट प्रत्यक्ष प्रभावित थिएनन् । उनीहरूले देशको समग्र अवस्थाप्रतिको असन्तुष्टि व्यक्त गरिरहेका थिए । त्यसैले बाँकीपुर उपनिर्वाचनको परिणामलाई जेन जी आन्दोलनको व्यापक सन्दर्भमा पनि हेर्न सकिन्छ ।
विद्यार्थी र युवामा बढ्दो असन्तुष्टिबारे भाजपा पूर्ण रूपमा अनभिज्ञ भने थिएन । विशेषगरी सन् २०१४ मा पार्टीलाई सत्तामा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको यही युवा पुस्तामाझ असन्तुष्टि बढिरहेको थियो ।
यही सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना विश्वासपात्र तथा सन् २०१४ देखि निरन्तर मन्त्री रहँदै आएका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट हटाए । मोदी सरकार गठन भएदेखि अहिलेसम्म लगातार मन्त्री रहन सफल हुने थोरै नेतामध्ये प्रधान पनि एक थिए । राजनाथ सिंह, नितिन गडकरी, पीयूष गोयल, निर्मला सीतारमण, राव इन्द्रजीत सिंह र जितेन्द्र सिंहबाहेक अधिकांश पुराना मन्त्रीहरू बीचमै बाहिरिएका थिए ।
सरकारले आन्दोलनकारीहरूलाई शान्त पार्न र जन्तर–मन्तरबाट फर्काउन धर्मेन्द्र प्रधानलाई ‘बलिको बोका’ बनाएको टिप्पणी पनि भयो । तर पछि भाजपाले आन्दोलनकारीप्रति नरम नीति अपनाउनु गल्ती भएको निष्कर्ष निकालेको देखियो ।
त्यसयता आन्दोलनकारीहरूप्रति पार्टीको व्यवहार पूर्ण रूपमा बदलियो । अब उनीहरूप्रति नरम होइन, कडा नीति अपनाउने संकेत देखिन थाल्यो ।
मोदीले भिडियो गरेर केही आन्दोलनकारी युवतीहरूले आफू र आफ्नी दिवंगत आमाविरुद्ध अपमानजनक शब्द प्रयोग गरेको भन्दै दुःख व्यक्त गरे । उनले आफूले उनीहरूलाई ‘क्षमा’ गरेको बताए पनि आन्दोलनलाई सामाजिक तथा सांस्कृतिक मूल्यको पतनसँग जोड्ने प्रयास गरे ।
यससँगै आन्दोलनको मूल मुद्दा–सरकारको कार्यसम्पादन, बेरोजगारी, प्रश्नपत्र चुहावट र युवाको असन्तुष्टि–पछाडि पारियो । त्यसको सट्टा आन्दोलनलाई ‘उच्छृङ्खल बालबालिकाको व्यवहार’, ‘असभ्य भाषा’ र ‘खराब संस्कार’ को रूपमा चित्रण गर्ने नयाँ राजनीतिक आख्यान निर्माण गर्न खोजिएको देखियो ।
यसरी आन्दोलनलाई शासनको असफलताभन्दा प्रधानमन्त्री र उनकी दिवंगत आमामाथिको अपमानका रूपमा प्रस्तुत गरेर जनमत आफ्नो पक्षमा तान्ने प्रयास गरिएको छ । तर प्रश्न उठ्छ–के यो रणनीतिले वास्तवमै भाजपालाई फाइदा पुर्याइरहेको छ ?
सी–भोटरले गरेको द्रुत सर्वेक्षणले फरक तस्वीर देखाउँछ ।
आन्दोलनकारीहरूले सामाजिक सञ्जालमा अपमानजनक भाषा प्रयोग गरेकाले उनीहरूमाथि कारबाही हुनुपर्छ कि पर्दैन भन्ने प्रश्नमा ५४.२ प्रतिशतले ‘हुन्छ’ भनेका थिए । प्रधानमन्त्रीविरुद्ध प्रयोग गरिएका आपत्तिजनक शब्दको निन्दा हुनु स्वाभाविक थियो ।
तर आश्चर्यजनक रूपमा झन्डै ४६ प्रतिशत उत्तरदाताले या त ‘हुँदैन’ भने वा स्पष्ट धारणा व्यक्त गरेनन् । अर्को प्रश्न थियो-‘कक्रोच जनता पार्टी आन्दोलनप्रति समर्थन बढ्नुको मुख्य कारण के हो ?’ २७.६ प्रतिशतले प्रश्नपत्र चुहावटप्रति विद्यार्थीको आक्रोशलाई मुख्य कारण माने । ३९.५ प्रतिशतले युवामा बढेको सरकारविरोधी भावनालाई कारण बताए ।
अझ अर्को प्रश्नमा–‘के तपाईं अन्य मुद्दामा पनि क्रक्रोच जनता पार्टी लाई समर्थन गर्न इच्छुक हुनुहुन्छ ?’–केवल २९.४ प्रतिशतले ‘छैन’ भने ।
युवामाझ सबैभन्दा लोकप्रिय नेता को हुन् भन्ने प्रश्नमा ३९.८ प्रतिशतले नरेन्द्र मोदी, २७.९ प्रतिशतले राहुल गान्धी र १२.६ प्रतिशतले जनता कक्रोच जनता पार्टीलाई रोजे ।
प्रधानमन्त्री मोदीलाई केवल पाँचमध्ये दुई जनाले मात्र सबैभन्दा लोकप्रिय नेता मानेको तथ्य आफैंमा भाजपाका लागि चेतावनीपूर्ण संकेत भएको लेखकको निष्कर्ष छ ।
भाजपाको ‘अजेय’ छविमाथि चुनौती
भाजपाले आन्दोलनरत विद्यार्थी र युवाविरुद्ध आक्रामक रणनीति अपनाउनुको एउटा कारण पनि छ । पार्टीका धेरै नेताहरूको बुझाइमा आन्दोलन गर्नेहरू मुख्यतः सहरी युवा हुन्, जो सामाजिक सञ्जालमा भिडियो बनाउने वा विरोध प्रदर्शन गर्ने त गर्छन्, तर लामो राजनीतिक संघर्ष गर्ने क्षमता उनीहरूमा छैन ।
तर भाजपाका लागि अझ महत्त्वपूर्ण कुरा आफ्नो ‘अजेय’ छवि जोगाउनु हो । विगत एक दशकमा यही छविले पार्टीको सबैभन्दा ठूलो राजनीतिक शक्ति निर्माण गरेको छ । यही कारण धेरै सरकारी संस्था राजनीतिक नेतृत्वअगाडि झुक्ने गरेको छ । यही कारण अन्य दलका नेता, सांसद तथा विधायकहरू पनि आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न भाजपातर्फ आकर्षित हुने गरेका छन् । सम्भावित गठबन्धन साझेदारहरू पनि यही धारणा हेरेर निर्णय गर्ने गर्छन् ।
यदि यो ‘अजेय’ छविमा कमजोरी देखियो भने त्यसको असर व्यापक हुन सक्छ । पार्टीभित्र र बाहिर दुवैतर्फ शक्ति सन्तुलन बदलिन सक्छ ।
भाजपाको राजनीतिक बलको केन्द्रमा लामो समयदेखि एउटा प्रश्न रहँदै आएको छ–‘मोदीको विकल्प को ?’
राहुल गान्धीलाई अझै पनि धेरैले प्रधानमन्त्री नरेन्द्र मोदीको बराबरीको नेताका रूपमा हेर्दैनन् । विभिन्न जनमत सर्वेक्षणले पनि यही धारणा बलियो बनाएको छ ।
त्यस्तै, कांग्रेसलाई पनि भाजपासँग एक्लै चुनावी प्रतिस्पर्धा गर्न सक्ने शक्तिशाली दलका रूपमा धेरैले नहेर्ने देखिएको छ ।
त्यसैले प्रश्न उठ्छ—युवापुस्तासँग विकल्प के छ ?
कक्रोचले आफू राजनीतिक दल होइन, केवल दबाब समूहका रूपमा रहने स्पष्ट गरिसकेको छ । तर यो तर्कमा एउटा कमजोरी छ ।
भारतको स्वतन्त्रतापछिको राजनीतिक इतिहास हेर्ने हो भने सन् १९७७, १९८९, २००४ र २०१४ का आमनिर्वाचनमा मतदाताले मुख्यतः सत्तारूढ सरकारलाई हटाउने उद्देश्यले मतदान गरेका थिए ।
जयप्रकाश नारायण (जेपी), विश्वनाथ प्रताप सिंह (वीपी सिंह) वा नरेन्द्र मोदीजस्ता नेताहरूले त्यही समयमा बढेको सरकारविरोधी जनभावनालाई राजनीतिक रूपमा उपयोग गर्न सकेका थिए ।
यसबाट लेखकको निष्कर्ष छ–सत्तामा टिकिरहन भाजपाले केवल राहुल गान्धी र कांग्रेस कमजोर छन् भन्ने विश्वासमा भर पर्न सक्दैन ।
प्रशान्त किशोरले बारम्बार भन्ने गरेका छन्–विपक्षी दल वा विपक्षी नेता कमजोर हुन सक्छन्, तर विपक्षको राजनीतिक स्थान कहिल्यै कमजोर हुँदैन ।’
बाँकीपुर उपनिर्वाचनको परिणामपछि भाजपाले यो सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने जरुरी छ ।
यस अर्थमा बाँकीपुरको परिणामले केवल बिहारको राजनीति होइन, मोदी–शाह नेतृत्वको भाजपाको राष्ट्रिय राजनीतिक रणनीतिमाथि पनि गम्भीर प्रश्न उठाएको छ ।




प्रतिक्रिया