राष्ट्रपति भण्डारी उम्मेदवारी गर्न आफैं जाने


काठमाडौं– संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि आज हुने उम्मेदवारी मनोनयन दर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं जाने भएकी छिन् । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि अहिले विहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ ।
राष्ट्रपति भण्डारी अपरान्ह १२ बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा उम्मेदवारी दर्ता गर्न आफैं जाने तयारीमा रहको स्रोतले वताएको छ । फागुन २९ गतेका लागि तय गरिएको मतदानका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो । राष्ट्रपति निर्वाचनको मिति तोकिएपछि निर्वाचन आचार संहितालाई ध्यान दिंदै राष्ट्रपति भण्डारीले सांसदहरु सँगको भेटघाटलाई बन्द गर्दै आएकी छिन् ।

भण्डारीलाई तेस्रो राष्ट्रपतिको उम्मेदवार बनाउने वाम गठबन्धनले निर्णय गरिसकेको छ । एमाले स्थायी समितिको बैठकले मंगलवार बेलुकी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

यता, नेपाली कांग्रेसले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् । संयोगवस राई र राष्ट्रपति विद्यादेवी भण्डारी दुबैको गृहजिल्ला भोजपुर हो ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नु पर्ने उल्लेख छ । तर राष्ट्रपति चयन भएको सात दिन भित्रै उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रियाको प्रारम्भ गर्नुपर्ने प्रावधान ऐनमा छ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित तीन जना र प्रदेश सभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन ।

गणतन्त्र घोषणापछि पहिलो राष्ट्रपति डा रामवरण यादवले आफ्नो भूमिका निर्वाह गरिसकेका छन् भने दोस्रो राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारी कार्यरत छिन् । संघीय संसदमा सातै प्रदेश सभामा कांग्रेस अल्पमतमा रहेकाले एमाले उम्मेदवार भण्डारी पुनः राष्ट्रपति बन्ने लगभग निश्चित छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement