नियम मिचेर प्रेस काउन्सिलको अध्यक्ष नियुक्त गरेको भन्दै सर्वोच्चमा मुद्धा

नियम मिचेर प्रेस काउन्सिलको अध्यक्ष नियुक्त गरेको भन्दै सर्वोच्चमा मुद्धा


काठमाण्डु – ऐन संशोधन गरेर प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो ।

बैठकले ऐन संशोधन गरेर भण्डारीलाई फास्ट ट्र्याकबाट काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाए नियुक्त गरेको भन्दै अदालतमा रिट दायर भएको हो ।

काउन्सिलमा कार्यवहाक अध्यक्ष बनाउनुपर्दा काउन्सिल आफैंले त्यहाँ कार्यरतमध्ये वरिष्ठ सदस्यलाई बनाउने व्यवस्था रहेकोमा सूचना तथा प्रविधि मन्त्रालयले सोहि बुँदा संशोधन गरेको छ ।

नेपाल पत्रकार महासंघले काउन्सिलमा कार्यवहाक अध्यक्ष तोक्ने व्यवस्थासहित सरकारले प्रेस काउन्सिल कार्य व्यवस्था नियमावली संशोधन गरेकोप्रति असन्तुष्टि जनाएको छ ।

प्रेस काउन्सिल ऐन २०४८ को दफा ८ उपदफा ३ र ६ मा प्रेस काउन्सिलको कार्यवहाक अध्यक्ष तोक्ने अधिकार काउन्सिल स्वयंलाई भएकोमा यससँग बाझिने गरी नेपाल सरकार आफैंले कार्यवहाक अध्यक्ष तोक्ने व्यवस्थासहित प्रेस काउन्सिल कार्य व्यवस्था नियमावली संशोधन गरिएको भन्दै महासंघले विरोध गरेको हो ।

प्रेस काउन्सिल ऐनविपरीत स्वीकृत गरिएको नियमावलीको उक्त प्रावधान तत्काल फिर्ता गरी प्रेस काउन्सिलको स्वायत्ततामाथि हस्तक्षेप नगर्न महासंघले सरकारसँग आग्रह गरेको छ ।