विश्व प्रेस स्वतन्त्रता सूचकांक : दक्षिण एसियामा नेपाल उत्कृष्ट

विश्व प्रेस स्वतन्त्रता सूचकांक : दक्षिण एसियामा नेपाल उत्कृष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२५ मा नेपाल १६ स्थान तल झरेको छ। विश्व सूचकांकमा तल झरे पनि दक्षिण एशियामा नेपाल उत्कृष्ट स्थानमा छ ।

रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ)ले सार्वजनिक सूचकांकमा नेपाल १८० देशमध्ये ९०औं स्थानमा पुगेको छ। सूचकांकमा नेपालको स्कोर ५५.२ रहेको छ, जुन गत वर्षको ६०.५२ को तुलनामा कम हो। गत वर्ष नेपाल ७४औं स्थानमा थियो।

दक्षिण एसियाली अन्य देशहरूको तुलनामा नेपाल प्रेस स्वतन्त्रताको हिसाबले अग्रस्थानमा छ। आरएसएफका अनुसार नेपालको प्रेस स्वतन्त्रता समस्याग्रस्त श्रेणीमा छ।

दक्षिण एसियाका अधिकांश देशहरू अति गम्भीर श्रेणीमा छन्। दक्षिण एसियामा नेपालपछि माल्दिभ्स १०४औं, श्रीलंका १३९औं, बंगलादेश १४९औं, भारत १५१औं, भुटान १५२औं, पाकिस्तान १५८औं र अफगानिस्तान १७५औं स्थानमा रहेका छन्।

सूचकांकमा नर्वे, डेनमार्क र स्वीडेन क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। ती देशको प्रेस स्वतन्त्रता राम्रो श्रेणीमा छ। यी देशहरूले लामो समयदेखि प्रेस स्वतन्त्रताको उच्च मापदण्ड कायम राख्दै आएका छन्।

त्यस्तै, खराब सूचकांक भएका देशहरूमा इरिट्रिया १८०औं, उत्तर कोरिया १७९औं, चीन १७८औं र सिरिया १७७औं रहेका छन्। यी देशहरूमा पत्रकारहरूले धम्की, सेन्सरसिप र हिंसाका घटनाहरूको सामना गर्नुपरेको रिर्पोटमा उल्लेख छ।

आरएसएफले विश्वव्यापी प्रेस स्वतन्त्रताको अवस्था निकै कमजोर भएको उल्लेख गरेको छ। विश्वको औसत स्कोर ५५ भन्दा तल झरेर कठिन अवस्थामा पुगेको छ। आर्थिक दबाब, राजनीतिक हस्तक्षेप र पत्रकारहरूको सुरक्षामा कमीका कारण यो अवस्था आएको आरएसएफको ठहर छ। गाजामा जारी युद्धमा एक सय भन्दा बढी पत्रकार मारिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।