जुनलाई किन भनिन्छ ‘गौरवको महिना’ ?

जुनलाई किन भनिन्छ ‘गौरवको महिना’ ?


काठमाण्डु – अङ्ग्रेजी पात्रो अनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ र यो महिनाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका निम्ति विशेष महत्त्व राख्छ ।

नेपालमा पनि जुन महिना लैङ्गिक तथा अल्पसंख्यकहरूले विभिन्न कार्यक्रम गरेर ‘प्राइड मन्थ’ मनाउने गर्छन् ।

एलजीबीटीआईक्यूप्लस समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा पनि यसलाई लिने गरिन्छ ।

यसै महिना विश्वका विभिन्न देशहरूमा ‘प्राइड परेड’हरू पनि हुने गर्छन् ।

आखिर ‘प्राइड मन्थ’बारे किन धेरै चर्चा हुन्छ र यसको महत्त्व के छ ? यहाँ हामीले ‘प्राइड मन्थ’बारे केही जानकारी प्रस्तुत गरेका छौँ ।

के हो प्राइड मन्थ?

विश्वभरिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय र उनीहरूका सहयात्रीले जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउँछन् ।

यो महिनामा कैयौँ जुलुस र प्रदर्शनहरू हुने गर्छन्। तर गत वर्ष र यस वर्ष पनि कोरोनाभाइरस महामारीका कारण त्यस्ता कार्यक्रमहरूमा परिवर्तन आएको देखिएको छ ।

जुन महिना नै किन छानियो ?

जुन महिनालाई नै प्राइड मन्थ छान्नुको कारण लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान र अधिकारको आन्दोलनसँग जोडिएको इतिहास हो ।

सन् १९६९ को जुन महिनामा अमेरिकाको न्यूयोर्क राज्यस्थित स्टोनवालमा समलिङ्गी पुरुषहरू र प्रहरीबीच झडप हुँदा दङ्गा भड्किएको थियो । बीबीसी न्यूजराउन्डका अनुसार सन् १९६९ जुन २८ मा ’स्टोनवाल इन’ नामक एउटा बारमा प्रहरीले छापा मारेको थियो ।

उक्त बार न्यूयोर्कका समलिङ्गी पुरुषहरूको बसोबास क्षेत्रमा रहेको थियो । प्रहरीले करिब २०० मानिसलाई सडकमा निकालेर कुटेको थियो ।

त्यसले समलिङ्गी समुदायलाई आक्रोशित बनायो र उनीहरू पनि प्रहरीमाथि जाइलागे । उक्त घटनापछि त्यहाँ साताभरि प्रदर्शन भए र त्यो समाचार सबैतिर फैलियो ।

त्यसपछि अधिकारवादी समूहहरू पनि प्रदर्शनमा मिसिन पुगे र त्यसको एक महिनापछि न्यूयोर्कमा समलिङ्गीहरूले समानताको माग गर्दै खुला रूपमा पहिलो जुलुस निकाले ।

जुन महिनामा उक्त घटना भएको र त्यसपछि समलिङ्गीलगायत यौनिक र लैङ्गिक अल्पसंख्यकहरूको अधिकारका लागि

अभियानहरू सुरु भएकाले जुन महिनालाई प्राइड मन्थका रूपमा छानिएको हो ।

नेपाली समाजमा कैयौँ लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले अहिले पनि दोहोरो जीवन अर्थात् आफ्नो पहिचान लुकाएर बस्नुपर्ने बाध्यता रहेको बताइन्छ ।

कतिपय आफ्नो पहिचान खुलाउन नसक्नेहरूले मुकुन्डो लगाएर पनि परेडमा सहभागी हुन्छन् ।

नेपालबाहेक अन्य कतिपय देशमा पनि जुन महिना बाहेक अन्य बेलामा नै यस्ता जुलुस निकाल्ने चलन छ ।

संविधानमै लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिचान गर्ने मुलुकमा नेपाल पर्छ । तर अझै पनि कानुनहरू नबन्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले कैयौँ अधिकारहरू प्राप्त गर्न नसकेको अधिकारकर्मीहरूले बताउँदै आएका छन् ।

नील हीरा समाजका अनुसार नेपालमा हाल करिब ९ लाख यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू रहेको अनुमान छ । तर त्यसको आधिकारिक विवरण भने कसैसँग पनि छैन ।