फोरमका मन्त्री कुर्दै प्रधानमन्त्री


काठमाडौँ- सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम नेपालले नाम नपठाएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । फोरमका लागि छुट्याइएको दुई मन्त्री र एक राज्यमन्त्रीमा सो दलबाट नाम प्राप्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई नियुक्त गर्ने प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

यही चैत २ गते भएको मन्त्रिपरिषद्को तेस्रो विस्तारमै सामेल हुने अपेक्षा गरिएको फोरमले संविधान संशोधनमा ठोस सहमति खोजेको र सो दलभित्र मन्त्री को हुने भन्नेमा विवाद देखिएका कारण त्यस दिन मन्त्री सिफारिश गरेको थिएन । तेस्रो विस्तार हुँदा राज्यमन्त्रीसहित २२ सदस्यीय मन्त्रिमण्डल बनेको थियो ।

संविधानअनुसार बढीमा २५ मन्त्री रहनेछन् । स्वास्थ्य र शहरी विकास मन्त्रालय फोरमलाई दिने तयारी देखिएको छ । रिमालले भने, “उहाँहरुसँग सकारात्मक छलफल भइरहेको छ, नाम आएपछि नियुक्ति हुन्छ, हामी कुरिरहेका छौँ ।”

मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले छलफल गर्दै
केन्द्र र प्रदेश सरकारबीचको समन्वयका विषयमा प्रधानमन्त्री ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । कर्मचारी व्यवस्थापन, बजेट र अन्य समन्वयका विषयमा पहिलो पटक सो छलफल हुन लगेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement