उखुको भुक्तानी नदिने उद्योगका कर्मचारी पक्राउ, ठगी मुद्दा लगाउने सरकारको तयारी


काठमाडौं – किसानबाट खरिद गरेको उखुको भुक्तानी समयमै नदिएको आरोपमा सुनसरीको इस्टर्न चिनी मिलका वित्त प्रबन्धक वृजमोहन गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विद्यानन्द माझीले समयमै उखुको मूल्य भुक्तानी नगर्नुका कारण सोधपुछ गर्न नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

‘उद्योगले किसानलाई उखु किनेको मूल्य दिन ढिलाइ गरेको विषयमा बुझ्न त्यहाँका कर्मचारीलाई नियन्त्रणमा लिएको हो,’ उनले भने। सो उद्योगले चालू सिजनमा किसानबाट खरिद गरेको उखुको करिब ४५ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

मन्त्री यादवको पहल
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले किसानलाई भुक्तानी नगर्ने चिनी उद्योगलाई ठगी मुद्दा लगाएर कारबाही गर्न गृहमन्त्री रामबहादुर थापालाई २२ चैतमा पत्राचार गरेका थिए।

पत्रमा सर्लाहीको अन्नपूर्ण सुगर एन्ड जेनेरल इन्डस्ट्रिज, नवलपरासीको इन्दिरा सुगर मिल, सुनसरीको इस्टर्न सुगर मिल र रौतहटको श्रीराम सुगर मिलले ठगी गरेको जानकारी दिएर कारबाही गर्न गृहमन्त्री थापालाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement