उमेर छिप्पिदै गए पनि रोनाल्डोको रफ्तार उस्तै


काठमाडौ‌ – सिजनको सुरुआतमा क्रिस्टयानो रोनाल्डोको गोल मेसिन खिया लागेजस्तै थियो। सुस्त, निक्कै सुस्त थियो। उनी पहिलाजस्तै प्रभावशाली थिएनन् । स्पेनी महारथी रियल म्याड्रिडका यी सुपरस्टार सिजनको दोस्रो हाफमा भने निक्कै आक्रमक भएर आएका छन्।

रोनाल्डोको दुई गोल सहयोगमा डिफेन्डिङ च्याम्पियन रियलले च्याम्पियन्स लिग क्वाटरफाइनलको टुरिनमा भएको पहिलो लेगमा मंगलबार इटालियन च्याम्पियन युभेन्टस्लाई ३–० ले ध्वस्त पार्‍यो। तेस्रो मिनेटमै गोलको खाता खोलेका उनले दोस्रो हाफमा ‘ओभरहेड–किक’मा गरेको गोल निक्कै लोभलाग्दो रहेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

उक्त गोल आफ्नै क्लबविरुद्ध भएपनि युभेन्टस् समर्थकले उठेर ताली बजाउँदै रोनाल्डोप्रति सम्मान व्यक्त गरेका थिए । यसलाई रोनाल्डोको करिअरको ६ सय बढी गोलमध्येकै उत्कृष्ट पनि भनिएको छ। विश्वकै महान् गोलकिपरको रुपमा प्रख्यात जियानलुइजी बुफोन रोनाल्डोको दोस्रो गोलमा नतमस्तक देखिएका थिए । उनले ट्वाल्ल परेर हेरिरहन बाहेक केही गर्न सकेका थिएनन् । रियल म्याड्रिडका लागि पछिल्ला नौ खेलमा १९ गोल गरेको रोनाल्डोको तथ्यांकले नै त्यसलाई पुष्टि गर्छ । उनले क्लब फुटबलमा पछिल्ला १३ खेलमा २३ गोल गरेका छन् । त्यसअघिका २३ खेलमा भने उनले १४ गोलमात्र गरेका थिए।

पोर्चुगिज रोनाल्डोले रियलको लागि यो सिजन ३६ खेलमा ३९ गोल गरेका छन् । यो संख्या युरोपका पाँच ठूला लिग ९इंग्ल्यान्ड, जर्मनी, स्पेन, इटाली, फ्रान्स० का खेलाडीले गरेको सबभन्दा धेरै गोल हो । यसले उनको गोल गर्ने खुबीका लागि ३३ बर्षे उमेर बाधा नभएको पुष्टि गर्छ । तर सिजनको सुरुमा सुस्त गतिमा गोल गरेपछि भने उनलाई उत्कृष्ट लयमा रहन उमेरले साथ नदिएको अनुमान लगाउन थालिएको थियो, जुन सिजनको दोस्रो हाफमा आएर गलत सावित भएको छ।

उनको उमेर छिप्पिदै गएको सत्य हो । र उनको खेल्ने शैली फेरिएको पनि पक्का नै हो । उनी गएको सिजनसम्म प्रत्येक मिनेट मैदानमा प्रभावशाली देखिन्थे । खेलको हरेक क्षण उनमा केन्द्रित हुन्थ्यो । र मैदानमा उनको गति पनि उस्तै तीब्र थियो, त्यो पनि मैदानमा चौतर्फी रुपमै। फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानको टिममा यसैपाली रोनाल्डोका भूमिकामा परिवर्तन आएको हो। उनी अचेल ‘अर्थोडक्स फरवार्ड’को रुपमा खेलिरहेका छन् । फेरिएको भूमिकामा पनि उनी प्रभावशाली देखिएका छन्।

त्यसैले त रियल म्याड्रिडले यभेन्टस्लाई सन् १९६२ यता पहिलोपल्ट ‘अवे’ खेलमा हराउन सक्यो । उनले मार्सेलोको लागि पनि गोलको अवसर बनाइदिए । गए रातीको नतिजाले युभेन्टस्को घरेलु मैदानमा अपराजित यात्रालाई पनि २५ खेलमा पूर्ण्विराम लगाइदियो । रोनाल्डोको च्याम्पियन्स लिगमा लगातार १० खेलमा कीर्तिमान गोलसँगै रियल सेमिफाइनलनजिक पनि पुग्यो।

च्याम्पियन्स लिग इतिहासको कीर्तिमान गोलमा रोनाल्डो बार्सिलोनाका लियोनल मेसीविरुद्ध ११९–१०० ले अगाडि छन् । १ सय गोल, नकआउटमा ५० गोल, नकआउट चरणमा लगातार ह्याट्रिक, तीन फाइनलमा गोल, समूहका सबै खेलमा गोल, एउटै क्लबको लागि १ सय गोल, लगातार १० खेलमा गोल । च्याम्पियन्स लिगका यी रेकर्ड अरु कसैको नभएर रोनाल्डोकै नाममा छन् । उनी चारपल्टका च्याम्पियन्स लिग विजेता पनि हुन्।

स्पेनी ला लिगामा भने रोनाल्डोको टिम रियल म्याड्रिड शीर्षस्थानमा रहेको बार्सिलोनाभन्दा १३ अंकले पछाडि छ र अब उसलाई आठ खेल बाँकी छंदा घरेलु लिगको उपाधि जित्न असंभवजस्तै भइसकेको छ । घरेलु लिगमा मेसीसँगको प्रतिस्पर्धामा पनि रोनाल्डो पछाडि नै छन् । यो सिजन मेसीले २६ गोल गरेका छन् भने रोनाल्डोले २२ गोल । मेसीका सहकर्मी लुईस स्वारेजको गोल संख्या पनि रोनाल्डोकै जत्ति छ । फरक के हो भने रोनाल्डोको गोल मेसिनले फेरि काम गर्न थालेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement