मालिक पक्राउ परेपछि चिनी उद्योगले किसानलाई उखुको भुक्तानी दिन थाले


काठमाडौ‌ – उखु किसानको भुक्तानी नगर्ने सुनसरीको इस्टर्न सुगर मिलका वित्त प्रबन्धक वृजमोहन गुप्तालाई प्रहरीले पक्राउ परेपछि उक्त मिलले उधारो उखुको पैसा भुक्तानी सुरु गरेको छ। भुक्तानी दिने सूचना जारी गरेर पनि नदिएपछि गुप्तालाई सुनसरी प्रहरीले सोमबार पक्राउ गरेको थियो।

मिलका सञ्चालकले मंगलबारदेखि नै किसानको भुक्तानी सुरु गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वित्त प्रबन्धक गुप्ता पक्राउपछि मिलका सञ्चालकले मंगलबार किसानको भुक्तानी सुरु गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले मन्त्रालयलाई जानकारी गराएको छ।

‘मंगलबार विहान १० बजेदेखि भुक्तानी सुरु भएको भनी स्थानीय कृषक प्रतिनिधि र प्रहरीबाट समेत जानकारी प्राप्त भएकाले यो भुक्तानी प्रक्रियामा निरन्तर निगरानी राखी अविलम्ब भुक्तानी प्रक्रिया सम्पन्न गराउनेतर्फ अग्रसर रहने व्यहोरा अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय सुनसरीले गृह मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ । इस्र्टन सुगर मिलले उखु किसानलाई ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको खबर आजको नागरिक दैनिकले छापेको छ।

चैत १० गते कृषि, उद्योग मन्त्रालय, उखु किसानका प्रतिनिधि र चिनी मिल सञ्चालकसहितको बैठकमा चिनी उद्योगीले चैत २२ गते समय तालिका सार्वजनिक गरेर भुक्तानी सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त प्रतिबद्धता बामोजिम इस्र्टन लगायतका चिनी मिलले सूचना जारी गरे तर भुक्तानी सुरु गरेनन्।

अनि सरकारले किसान ठग्न खोजेको भन्दै पक्राउ गर्न सुरु गरेको हो ।उद्योग मन्त्रालयले इस्र्टन सहित श्रीराम सुगर मिल, अन्नपूर्ण र इन्दिरा सुगर मिल सञ्चालकले किसानको भुक्तानी नदिएकाले पक्राउ गर्न गृह मन्त्रालयलाई परिपत्र पनि गरिसकेको छ।

भुक्तानी नगर्ने अन्य चिनी मिल सञ्चालकलाई पनि पक्राउ गरिने मन्त्रालयले जनाएको छ । कतिपय चिनी मिल सञ्चालक केही समयदेखि सम्पर्कमै नभएकाले उनीहरूको पनि खोजी भइरहेको मन्त्रालयले जनाएको छ । उद्योेग मन्त्रालयले समयमै किसानको भुक्तानी नगर्ने चिनी मिल सञ्चालकविरुद्ध ठगी मुद्दाको प्रक्रिया अघि बढाएको छ । मुलुकभर सञ्चालनमा रहेका एक दर्जन चिनी मिलले किसानलाईसाढे नौ अर्ब रुपैया भुक्तानी गर्न बाँकी छ । कतिपय चिनी मिलले भुक्तानी दिन सुरु गरिसकेका छन्।

महोत्तरीको एभरेस्ट सुगर मिलले एक अर्ब ४० करोड, सर्लाहीको इन्दुशंकर सुगर मिलले एक अर्ब ३० करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ । त्यसैगरी, बाराका रिलारन्सले एक अर्ब र श्रीराम सुगरले ६८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सर्लाहीको अन्नपूर्ण चिनी मिलले ३० देखि ३५ करोड तिर्न बाँकी छ । अन्नपूर्णको बाँकीमध्ये २३ करोड रुपैयाँ ३–४ वर्षअघिकै हो । चिनी मिलहरूले किसानबाट उधारोमा उखु किनेर लामो समयसम्म भुक्तानी नगर्दा किसान मर्कामा परेका छन्।

कतिपय चिनी मिलले आफ्नो गोदाममा थुप्रै चिनी नबिकेर थन्किएको तर्क गर्दे भुक्तानी गर्न नसक्ने बताएका छन् । चिनी मिल सञ्चालकहरूले चिनी आयातमा लाग्ने भन्सार महसुल, मूल्य लगायतमा समस्या रहेको भन्दै त्यसको छिटो समाधान गर्न माग गरेका छन्।सरकारले अहिलेसम्म पनि यस वर्षको उखुको मूल्य तोकेको छैन।

उखुको मूल्य निर्धारण गर्न बनेको समितिले गरेको सिफारिस अनुसार उद्योग मन्त्रालयले प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा तोक्ने सिफारिस गरेको छ । उखुको मूल्य तोक्ने विषय मुख्यसचिव समक्ष पुगिसकेको छ । मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी छ।

उद्योगीले समयमै भुक्तानी नगर्ने र सरकारले समयमै मूल्य नतोक्ने प्रवृत्ति दोहोरिरहँदा गत वर्ष उखु उत्पादनमै समेत असर परेको थियो । परार उखुको मूल्य निकै कम तोकिएपछि निराश भएका किसानले खेती घटाउँदा गत वर्ष उत्पादनै घटेको थियो । फेरि गत वर्ष राम्रो मूल्य पाएका किसान उत्साहित भएर थप क्षेत्रफलमा उखु खेती गरेकाले यस वर्ष उत्पादन बढ्ने अनुमान छ।

पोहोर स्वदेशमा एक लाख ३० हजार टन चिनी उत्पादन भएको थियो । यस वर्ष बढेर एक लाख ७० हजार टन पुग्ने अनुमान गरिएको छ ।मुलुकमा १२ वटा चिनी उत्पादन मिल सञ्चालनमा छन् । थप उद्योग आउने क्रममा छन् । देशभरिमा ८० हजार नौ सय ३१ हेक्टरमा जमिनमा उखु खेती छ । उक्त जमिनबाट वार्षिक ३१ लाख टन उखु उत्पादन हुन्छ । उखु खेतीमा झन्डै तीन खर्ब रुपैयाँ बराबर लगानी छ । यस क्षेत्रमा लाख हाराहारी किसान संलग्न छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement