काठमाण्डु- भारतको उडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयकी नेपाली छात्रा प्रिसा साह मृत्यु प्रकरणमा नयाँदिल्लीस्थित नेपाली दूतावासले छलफल थालेको छ।
विश्वविद्यालयको होस्टेलमा साह मृत फेला परेको घटनाबारे स्वतन्त्र र निष्पक्ष तवरले अनुसन्धान गर्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सरोकारवालाहरूलाई आग्रह पनि गरेको छ ।
दूतावासले केआईआईटी विश्वविद्यालयका प्रतिनिधि, प्रहरी, विदेश मन्त्रालयका अधिकृतसँग सम्पर्क तथा छलफल गरी घटनाबारे जानकारी लिएको छ ।
सरोकारवालासँगको छलफलमा घटनाको स्वतन्त्र एवं निष्पक्ष अनुसन्धान हुनुपर्ने तथा केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्न दूतावासले आग्रह गरेको छ ।
राजदूत डा. शंकर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी, प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न अनुरोध गरेका छन् ।
मृतकका परिवारसँग निरन्तर सम्पर्क भइरहेको पनि दूतावासले जनाएको छ।
केआईआईटीले दियो प्रिशालाई श्रद्धान्जली
केआईआईटीले अध्ययनरत नेपाली छात्रा प्रिशा साहको निधनप्रति शोक व्यक्त गरेको छ ।
केआईआईटीले एक नोट सार्वजनिक गर्दै बिहीबार बेलुकी कजेलको होस्टलमा मृत भेटिएकी साहको निधनप्रति शोक व्यक्त गरेको हो ।
विश्वविद्यालयका वरिष्ठ पदाधिकारीहरू एकै ठाउँमा भेला भई उनको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै परिवार, साथीभाइ र सम्पूर्ण विद्यार्थी समुदायसँग ऐक्यबद्धता प्रकट गरेको जनाइएको छ ।
साहको असमायिक मृत्युले सम्पूर्ण केआईआईटी परिवार स्तब्ध र शोकाकुल भएको बताएको छ । तर, केआईआईटी प्रशासन साहको मृत्युको कारणबारे मौन रहेको छ । कलेजले अहिलेसम्म उनको मृत्युबारे बोलेको छैन ।
वीरगन्ज घर भएकी १८ वर्षीया साह बिहीबार साँझ कलेजको होस्टलमा झुण्डिएर आत्महत्या गरेको अवस्था मृत भेटिएकी थिइन् । अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन ।
केआईआईटीमा पछिल्लो तीन महिनामा दोस्रो नेपाली विद्यार्थीको मृत्यु भएको हो । यसअघि बुटवलकी प्रकृति लम्साल सो क्याम्पसको होस्टलमा मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया