काठमाण्डु – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत्र १५ गतेको राजावादीको आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा गर्नुपर्ने मागप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबारमा आयोजित विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउने अनि त्यसलाई लोकतन्त्रवादीले सहिद घोषणा गरिदिनुपर्ने ?’
उनले प्रश्न गरे, ‘पहिले आन्दोलनमा मरेका सबैलाई ज्ञानेन्द्रले सहिद घोषणा गरेका थिए ?’ ज्ञानेन्द्रको शासन आए मात्र सहिद घोषणा गर्ने तर वर्तमान सरकारले तीनकुने घटनामा ज्यान गुमाएकालाई कुनै हालतमा सहिद घोषणा नगर्ने स्पष्ट पारे ।
उनले भने, ‘चैत्र १५ गतेको राजावादीको सत्ता विरुद्धको आन्दोलन हो । उनीहरूले सरकार विरुद्धमा अराजकता फैलाए । गणतन्त्र समाप्त पार्न लागेका छन् । लोकतन्त्रका विरुद्धमा राजा ल्याउँछु भन्दै गरिएको आन्दोलनमा मान्छे मर्यो । आन्दोलनमा यस्ता घटना त हुन्छ । त्यसलाई सहिद घोषणा गर्नुपर्यो भनेर आन्दोलनकारी वा विरोधीहरू र गणतन्त्रवादीहरूले पनि भन्दैछन् । राजावादीको आन्दोलनमा जाने अनि त्यसलाई लोकतन्त्रवादीले सहिद घोषणा गरिदिनुपर्ने, पहिले आन्दोलनमा मरेका सबैलाई ज्ञानेन्द्रले सहिद घोषणा गरे ? राजा ज्ञानेन्द्रको शासन आयो भने उसले सहिद घोषणा गर्ने हो, हामीले गर्ने होइन ।’
उनले अहिले मुलुकमा खोज पत्रकारिताको असाध्यै धेरै खडेरी परेको बताए । खोज पत्रकारितामा विद्या चापागाईंलाई पुरस्कृत गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘अहिले खोज पत्रकारिताको असाध्यै धेरै खडेरी परेको मुलुक हो यो । खोज पत्रकारितामा हामीहरूले विद्या चापागाईंलाई पुरस्कृत गर्नुपर्छ । खोज पत्रकारिताले नै मुलुकको कतिपय समस्या उजागर गरेको छ । पत्रकारिताले नै दार्चुलाको तिङ्करको छाङ्रुका मान्छेहरू सदरमुकाम आउँदाखेरि भारतको बाटो अहिले पनि प्रयोग गर्ने अवस्था रहेछ भन्ने थाहा पायौं । सत्तामा बस्ने मान्छेले आँखा खोल्ने हो भने अब त्यहाँ तुरुन्तै ५० करोड होस् कि ५० अर्ब हो खर्च गरेर बाटो बनाउनुपर्छ ।’
प्रतिक्रिया