भरतपुर- देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका शिक्षक छन् भने ४७ जना निजी स्रोतका ।
दरबन्दीका शिक्षकलाई सरकारले दिने तलब खुवाइए पनि निजी स्रोतका शिक्षकलाई तलब खुवाउने समस्या भएको विद्यालयका प्रधानाध्यापक (प्रअ) पूर्णप्रसाद दवाडी बताउनुहुन्छ । “निजी स्रोतका शिक्षकलाई मात्रै हामीले मासिक पाँच लाख रुपियाँ तलब दिनुपर्छ । कोरोनाले केही महिना यता विद्यालय बन्द हँुदा हामीले निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउन सकेका छैनौँ,” प्रअ दवाडीले भन्नुभयो ।
दुई हजार पाँच सयभन्दा बढी विद्यार्थी रहेको यो विद्यालयमा विद्यार्थीको चाप अनुसार शिक्षक दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राख्न बाध्य भएको उहाँको भनाइ छ । उहाँ थप्नुहुन्छ, “असारसम्म त हामीले बनाउँदै गरेको विद्यालय भवनको निर्माणको काम रोकेर त्यसको बजेटले शिक्षकलाई तलब दिएका हौँ । अहिले त साउन यता तलब दिएको छैन । दशैँको मुखमा न उहाँहरूलाई तलब दिन सकिन्छ न त विद्यालयमा नियमित पढाऔँ भन्न सकिन्छ ।”
निजी स्रोतका शिक्षकलाई दिइने तलबको स्रोत विद्यार्थीबाट लिइने चन्दा रकम नै भएको जनाउँदै उहाँले त्यो रकम उठाउन नपाइने भएपछि समस्या भएको बताउनुभयो । यो समस्या अहिले नेपालभित्रका झण्डै २८ हजार निजी स्रोतका शिक्षकले भोगिरहेको नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष बाबुराम थापा बताउनुहुन्छ ।
“विद्यालयले नै आन्तरिक स्रोतमा तलब भत्ता खुवाउने गरी निजी स्रोतमा शिक्षक राख्ने प्रक्रिया नै गलत छ”, उहाँले भन्नुभयो, “(विद्यार्थीको चापका आधारमा शिक्षक दरबन्दीको व्यवस्था नहुंदा विद्यालय आफ्नै शिक्षकलाई तलब खुवाउन नसक्ने समस्यामा छन् ।”यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया