६३ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाण्डु –  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच महानिरीक्षक सिंहले विभिन्न पदमा पदोन्नति भएका ५७ जना तथा खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी कूल ६३ जना प्रहरी अधिकृतहरूलाई  दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी नायब उपरीक्षक (डीएसपी) ३३ जना, प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक (डीएसपी) ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक (इन्स्पेक्टर) २१ जना रहेका छन् ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन प्रेरित गर्ने अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले आ-आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा उत्कृष्ट काम गर्न निर्देशन दिए । सबै प्रहरी कर्मचारीहरूले संगठनको मूल उद्देश्यमा केन्द्रीत भई संगठनको श्रीवृद्धिमा व्यावसायिक निष्ठाका साथ अनुशासित एवं मर्यादित ढङ्गले काम गर्नुपर्नेमा उनले जोड दिए ।

समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक होम बहादुर थापाले प्रविधिको विकाससँगै अपराधमा देखिएका फरक शैलीले आगामी दिनहरू अझ चुनौतीपूर्ण हुने बताउँदै व्यावसायिक निष्ठा, ईमानदारीता, अनुशासित र कर्तव्य निष्ठ भई त्यस्ता जटिल परिस्थितीको सामना गरी संगठनको गरिमा उच्च राख्न कटिबद्ध भई लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement