प्रदेश ७ : दैवि प्रकोपका घटनामा सबै भन्दा बढी बझाङमा मानवीय क्षति


बझाङ –  विगत ४ महिनामा प्रदेश ७ मा दैविक प्रकोप घटनामा परि २९ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा अन्य ६ जना घाइते तथा २२ जना बेपत्ता भएका छन् ।

पहिरोमा ६ जना, बाढीमा ८ जना, हावाहुरीमा २, डुवेर १२ र भारी वर्षाका कारण एक जनाको मृत्यु भएको राष्ट्रिय आपत्तकालिन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ। विपदमा परी ज्यान गुमाउने र घाइते हुनेमा महिलाको संख्या अधिक रहेको छ।

भारी वर्षासँगै बाढी, पहिरो, डुबान, हावाहुरी, भारी वर्षा लगायतमा परी ३ सय ३९ जना प्रभावित भएको, २ सय ५२ घरमा आंशिक र १४ घरमा पूर्ण क्षति हुनुका साथै ६ गोठ, ४१ पशुचौपायामा क्षति पुगेको तथ्यांकमा उल्लेख छ।

केन्द्रका अनुसार दैवि प्रकोपमा बझाङमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। बझाङमा ८ पुरुष र ६ महिला गरि १४ जनाले ज्यान गुमाएका छन् भने अन्य २ जना घाइते भएका छन्।

यसैगरी कैलालीमा ७ महिला र १ पुरुष गरी ८ जनाको मृत्यु, २ पुरुष र १ महिला गरी ३ जना बेपत्ता भएका छन्। कञ्चनपुरमा २ पुरुष र ३ महिला गरी ५ जना तथा बैतडी र दार्चुलामा एक÷एक पुरुषको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement