प्रदेश ३ मा तीन नाका खोल्ने तयारी


काठमाडाैं – प्रदेश नं ३ को नामकरण गर्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन । प्रदेशको नामकरण गर्ने विषयमा अहिले निकै चर्चा चलेको छ। प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम गौरीशङ्कर, वाग्मती, नेवा ताम्सालिङ, काठमाडौँ मण्डल, गोसाइँकुण्ड, शैलुङजस्ता नाम छन् ।

राजधानीका बारेमा मकवानपुर, चितवन, काभ्रेमा राजधानी हुनुपर्छ भनेर प्रस्ताव दर्ता भएको छ । प्रदेश सरकारले सबै सांसदसँग परामर्श गरेर नामको अन्तिम टुङ्गो लगाउने छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का सचिव तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले प्रदेशको नामकरण र राजधानी दुवै सबैको सहमतिमा राखिने सुनाए।

‘प्रदेशको नाम राख्ने र राजधानी कहाँ राख्ने विषयमा प्रदेश सांसदले संवैधानिक अधिकार प्रयोग गर्नुभएको छ, सर्वसम्मत रुपमा नाम र राजधानी हुन्छ”, सचिव पोखरेलले भने, ‘कतिपय सांसदलाई मेरै जिल्लामा हुनुपर्र्छ भन्ने छ तर त्यस्तो ठान्नु हुँदैन।” उनले सर्वसम्मत ढङ्गले पार्टीको निर्देशन मान्नुपर्ने धारणा राख्नुभयो । उहाँले केरुङ, तातोपानी र लामावगर नाका खोल्ने तयारीमा प्रदेश लागेको जानकारी दिए।

सो प्रदेशले त्यहाँको विकासका लागि हेटौंडा–कुलेखानी, टोखा–छहरे, नौबिसे– सुरुङमार्ग बनाउँदा राम्रो हुने योजना बनाएको छ। सो प्रदेशलाई शून्य कार्बनको प्रदेश बनाउने र भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा लागेको छ। “भ्रष्टाचारमुक्त प्रदेश बनाउन मुख्यमन्त्री डोरमणि पौडेलदेखि सबै मन्त्रीहरु लागिरहेका छन्”, नेता पोखरेलले भने, “यो प्रदेश समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा लागेको छ ।”

उक्त प्रदेशले जनताउन्मुख बजेट आगामी असार एक गते ल्याउने तयारी गरेको छ। राष्ट्रिय आयभन्दा माथि आर्थिक वृद्धिदर बनाउने लक्ष्य राखेको छ । सरकारले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने र सरकारले तय गरेको समृद्ध नेपाल र सुखी नेपालीको बाटो पनि नीति तथा कार्यक्रमलाई जोडेर ल्याउने तयारी गरेका छ। प्रदेशमा रहेको गरीब र विपन्नतालाई कसरी सम्बोधन गर्ने भनेर साधन र स्रोत उचित परिचालन गर्ने योजना बनाएको छ ।रासस

 

प्रतिक्रिया दिनुहोस
Advertisement