फिर्ता गरेको एक महिनामै ११ नेताले लिए पिएसओ


काठमाण्डु – गृह मन्त्रालयले नेताहरूलाई फेरि व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) खटाउन थालेको छ । सुरक्षा खोसेको केही हप्तापछि नै गृह मन्त्रालयले हालै ११ जना नेतालाई पिएसओ दिने निर्णय गरेको हो ।

सुरक्षाकर्मी फिर्ता गरिएलगत्तै आफूहरूलाई सुरक्षा जोखिम रहेको भन्दै नेताहरूले निवेदन दिएका थिए । गृहले सुरक्षा जोखिमका आधारमा हालै ११ जना नेतालाई पिएसओ दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

उनले विगतमा सुरक्षाको नाममा चालक र प्रहरी परिचरसमेत खटाउने गरिएकोमा यसपटक गृहले पिएसओ मात्र दिएको बताए  । दुई महिनाअघि मन्त्रिपरिषदबाट स्वीकृत भएको विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीबाहेक अन्य नेताको सुरक्षा कटौती गरिएको थियो ।

श्रोतका अनुसार पिएसओ दिनेमा धेरैजसो काँग्रेस नेताहरु छन् । नेताहरु गोमालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, सुरेन्द्र पाण्डे, बालकृष्ण खाण, राजेन्द्र श्रेष्ठ, डा. रामशरण महत्त, डा. प्रकाशसरण महत्त, डा. प्रकाशचन्द्र लोहनी, सुमनराज प्याकुरेल, देवेन्द्र कँडेल लगायतले नेपाल प्रहरीबाट पिएसओ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement