काठमाण्डु – यातायात व्यवसायीको आन्दोलन स्थगित भएसँगै सार्वजनिक गाडी चल्न थालेका छन् ।
गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड शेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । उनीहरुको आन्दोलन स्थगन भएसँगै गएराति देखि नै सार्वजनिक गाडी चल्न थालेका हुन् ।
सोमबार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । तर सहमतिको कार्यान्वयन नभएको भन्दै मंगलबार दिनभर व्यवसायीले सार्वजनिक गाडी चलाएका थिएनन् । सार्वजनिक गाडी नचल्दा दुई दिन यात्रुले सास्ती खेप्नुपरेको थियो ।
गण्डकी प्रदेश सरकारले‘राइड शेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेपछि यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए ।
छलफलपछि अहिलेका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।
सरकार र यातायात व्यवसायीबीच पटक–पटक वार्तापछि भएको सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । त्यसैका आधारमा गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको हो ।
प्रतिक्रिया