यस्ता छन् नियमित पुदिना सेवनका फाइदा


काठमाण्डु – बर्षायाम सुरु भएसँगै हाम्रो गाउँघरतिर पुदिना मौलाएको देखिन्छ । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने पुदिना स्वास्थ्यका लागि निकै लाभदायक रहेको छ ।

पुदिना अत्यन्त धेरै औषधीय गुण भएको वैज्ञानिकहरूले समेत प्रमाणित गरेका छन् । नियमित रुपमा पुदिनाको सेवन गर्दा शरीरभित्र भएको कतिपय ब्याक्टेरिया र ढुसीको वृद्धिदर रोक्दछ । यस्तै दम एलर्जीजस्ता रोगमा पुदिना ज्यादै उपयोगी मानिन्छ । यसमा पेरिलिन, अल्कोहल नामक एउटा फाइटो न्यूट्रिन्टस हुन्छ ।

जसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ । दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ४–५ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच हुँदैन । पेट फुल्ने वा अजीर्ण हुने समस्यामा पुदिनाको २ चम्चा रसमा अलिकति विरेनुन राखी मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ ।

पुदिनाको बासनाले नाक, घाँटी,स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने तथा स्वासप्रस्वासलाई सहज बनाउन मद्धत गर्दछ ।

पुदिनाले स्वासप्रश्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका विरामीहरुलाई पुदिनाको सेवन गराउने चलन छ । कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पात राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्दछ ।

प्रायः सबैलाई थाहा भएको कुरा हो पुदिनाको एक फाइदा मुखको स्वास्थ्य पनि हो । पुदिनामा भएको किटाणुनासक विशेषताले मुख भित्र हुने किटाणुहरु मारी जिब्रो तथा दाँतका भागहरु समेत सफा बनाउँछ ।

त्यस्तै स्वासलाई समेत सफा र ताजगी राख्न मद्धत गर्छ । पुदिनाको प्रयोगले बान्ता र टाउको दुखाईको समस्या समाधान गर्न सक्छ । यसको कडा तथा स्वच्छ बास्नाले बान्ता हुने तथा टाउको दुखाईको समस्या समाधान गर्छ ।

लामो यात्रामा निस्कँदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका बस्तु सुघ्नाले ठिक हुन्छ । यति मात्रै होइन पुदिनाको तेल, बाम (भिक्स) निधार, नाकमा लगाउनाले टाउको दुखाई ठिक हुन्छ ।

यति मात्र नभई सौन्दर्यका लागि पनि पुदिना उपयोगी छ । छालाको चाउरीपना हटाएर चम्किलो बनाउन, कपाल झर्नबाट रोक्न, चायाबाट जोगिन पनि यसको प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement