मेरो पुनर्जन्मको त्यो क्षण

मेरो पुनर्जन्मको त्यो क्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खार्पाखोला दक्षिणकालीको ओशोधाममा पहिलो पटक गुरुदेव ओशो अखण्ड सामु बसेँ । मन डरले भरिएको थियो । मनमा अनेकौं कौतुहलता थियो । उहाँले केही बोल्नु भएन—केवल निधारमा हात राख्नुभयो । त्यो स्पर्शसँगै मेरा आँखा बन्द भए, तर म भित्र प्रकाश फैलियो । बलिन्द्रधारा आँसु बग्न थाल्यो—न व्यथा, न दुःख, केवल शुद्ध अनुभव थियो ।

दुःखको कारण नै ‘म’ भन्ने भ्रम रहेछ । परमआत्मा नै आत्मा हो भन्ने बुझें । म खुददाता रहेछु, त्यो बिर्सेर भौतिक अपेक्षा गरेर चिन्तित रहेछु ।

जब आँखा खोलेँ, उहाँ मन्द मुस्कुराइ रहनुभएको थियो—दिव्य मौन मुस्कान । त्यसैदिन मेरो आत्माको पुनर्जन्म भयो जस्तो लाग्यो । गुरुले शून्य देखाउनुभयो र त्यस शून्यमा म आफै भेटिएँ—पहिलोपटक । त्यो क्षण नै मेरो पुनर्जन्म भयो ।

रजनिश कैलाश हिमालय धाम नेपालमा ओशोधारा संघ नेपालद्वारा निर्माण गरिएको एक आध्यात्मिक केन्द्र हो, जुन दक्षिणकाली नगरपालिका–९ को खार्पा खोला नख्खुटोलमा अवस्थित छ । फर्पिंगदेखि ३ किमी हेटौंडा जाने बाटोमा छ । यो धाम भगवान ओशोका ध्यान विधिहरू, मौन साधना, र आध्यात्मिक अभ्यासहरूका लागि समर्पित पवित्र दिव्यस्थल हो । यहाँ नियमित रूपमा ध्यान शिविरहरू, सत्संग र ओशोका प्रवचनहरू आयोजना गरिन्छ । फर्पिंग खार्पा खोलाको शान्त वातावरणमा अवस्थित यो धाममा साधना गर्दा साधकहरूलाई आन्तरिक शान्ति र आत्म–ज्ञान प्राप्त गर्न स्वस्फुर्त प्रेरित गर्दछ ।

२०८१ को शिवरात्री आसपास चीबाट नेपाल जाने सोच बनाएको थिएँ । केहि दिन त परिवारसँग बस्ने नै सोच थियो । टिकटक हेर्दै थिएँ–लामो दाह्री पालेका साधारण स्पष्ट भाषामा एक जना गुरु बाबा जीवन दर्शन सुनाउँदै हुनुन्थ्यो । उहाँको विचारले मेरो ध्यान आकृष्ट गरेको थियो । नेपाल आएर यस आश्रममा गुरुदेवको सामिप्यमा बसें । ध्यान सिकें । जीवनलाई हेर्ने दृष्टिकोण नै बदलियो । समस्या नै सुखको बाहिरी खोज रहेछ । भौतिकवादको द्वन्द्वात्मक अपेक्षाहरू रहेछन । कहीँ नभएको ‘म’ भन्ने नश्वर शरीरको अहंकारमा रहेछ । दुःखको कारण नै ‘म’ भन्ने भ्रम रहेछ । परमआत्मा नै आत्मा हो भन्ने बुझें । म खुददाता रहेछु, त्यो बिर्सेर भौतिक अपेक्षा गरेर चिन्तित रहेछु । मेरो मनको विद्रोह, द्वन्द्व, अहंकार सबै नष्ट भयो । गजब भयो । ‘ध्यानले सफलता ल्याउँछ होइन, ध्यान नै सफलता हो’ ओशोको वाणीबाट प्रभावित भएँ । ‘पायो जी पायो, मैने राम रतन पायो !’ जस्तै उहाँ वास्तवमा मेरा अध्यात्मिक गुरु, जसलाई म गुरु बाबा भनेर सम्बोधन गर्छु ! उहाँ ओशोधारा संघ दक्षिणकाली काठमाडौंको संरक्षक गुरुदेव ओशो अखण्ड हुनुहुन्छ ।

एक युवक, जीवनको थकानले गलेको, ओशो आश्रम पुग्यो । उसले गुरुलाई सोध्यो, ‘ध्यान भनेको के हो ?’ गुरुले मुस्काउँदै भन्नुभयो, ‘बस, एक घण्टा नाच, जति सकिन्छ टुटेर ।’ उ नाच्न थाल्यो—रुँदै, हाँस्दै, थकाउँदै । त्यस नाचपछि फेरी गुरुले भन्नुभयो, ‘अब बस, आँखा बन्द गर ।’ आँखा बन्द हुने बितिक्कै अचानक सबै विचारहरू रोकिए । उ स्वतः मौन भयो । उसको मन मौन भयो । हो त्यो मौनतामा उसले पहिलोपटक आफूलाई देख्यो—बिना नाम, बिना डर । ओशोको ध्यान त्यही थियो—पहिला आफ्नो विकार विसर्जन गर्ने अनि मौनतामा आफूलाई समर्पण गर्ने । ध्यान भनेको बस्नु होइन यो त पूर्ण विघटनपछिको जागरण हो । पुनर्जीवन हो । पुनर्जागरण हो । यद्यपी मैले केही बुझेको छैन । केही थाहा छैन । धेरै सिक्नु छ । जीवनलाई सत्मार्गमा डोर्‍याउनु छ । यसको लागि गुरुदेव मेरो सहारा हुनु भएको छ ।

यस केन्द्रमा रजनिश कैलाश हिमालय धाम नामक ध्यान आश्रमको निर्माण भइरहेको छ । जसको उद्देश्य साधकहरूलाई ध्यान, योग, प्रज्ञा, र आत्म–जागरणमार्फत् जीवनमा शान्ति, प्रेम र आनन्दको अनुभूति गराउनु हो । यो आश्रम दिव्य हुनेछ । अन्तर्राष्ट्रिय स्तरको हुने छ । विश्व प्रसिद्ध साधक साधिकाहरूको चैतन्य केन्द्र हुने छ । यसको लागि गुरुदेव, आचार्य श्रीहरू दिन रात नभनी निरन्तर लागि रहनु भएको छ । यो दिव्य आश्रमको अवधारणा केवल भौतिक संरचनाको रूपमा होइन, बरु एक आध्यात्मिक प्रयोगशालाको रूपमा विकास हुँदैछ । यहाँ व्यक्ति मौन, ध्यान र आत्म–अवलोकनद्वारा रूपान्तरण हुन्छ ।

सबै क्रियाकलापहरूमा स्वयं सहभागी भएर उहाँले ‘सेवा नै साधना’ भन्ने भावलाई जीवन्त बनाउनु भएको छ । भक्तजन, साधक, र स्वयंसेवकहरू उहाँको निर्मल व्यवहार र मौन प्रेरणाले पूर्ण आकर्षित छन् । गुरुको मौन आशीर्वादमा धेरैले आफूलाई यस कार्यमा समर्पण गर्न भौतिक श्रमदानदेखि भव्य आर्थिक योगदानसम्म गरेका छन् । तन, मन, धन सबै लगाएर दिव्य आश्रम निर्माणमा लागेका छन् । हामी सबै साधक साधिकाहरू लागि रहेका छौं । साधनाको गृह निर्माणमा एउटा इँटा थप्न पाउनु पनि सौभाग्य हो ।

रमेश (नाम परिवर्तन) विगत दुई वर्षदेखि डिप्रेशनले ग्रस्त थियो । औषधि, थेरापी, सल्लाहबाट थाकिसकेका थिए । अन्ततः ऊ एक दिन दक्षिणकालीको ओशो आश्रम पुग्यो । त्यहाँ, गुरुदेव ओशो अखण्डको मौन ध्यान सत्रमा सहभागी भए । उसँग कोही बोलेनन, कसैले केही उपदेश दिएनन ।

तर त्यो मौनतामा रमेशले आफ्नै मनको चिच्याहट सुन्यो । र, त्यसलाई अँगाल्न सिक्यो । त्यो रात, पहिलोपटक ऊ आँखा बन्द गरेर रोयो—शान्तसँग । भोलिपल्ट उठ्दा ऊ हल्का थियो, उज्यालो थियो । उसको उपचार सुरु भएको थियो । औषधिले गर्न नसकेको काम… मौन साधनाले गरेको थियो । यो दिव्य ध्यान नै थियो उसको पुनर्जन्म थियो । यस्ता सयौं कथा छन् । धेरैले महसुस गरेका छन् । यस्तै मैले पनि नयाँ जीवन पाएँ, नयाँ पिता पाएँ, जीवनमा वास्तविक गुरु पाएँ । हिम्मत भए, भगवानको कृपा भए, तपाईंहरूले पनि पाउन सक्नु हुन्छ ।

श्री गुरु चरण कमलेभ्यो नमः