काठमाडौं – भारत प्रशारित जम्मू-कश्मिरमा बुधबार पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय एयरफोर्सका विंग कमाण्डर पाइलट अभिनन्दन बर्तमानलाई रिहा गरिने भएपछि भारतले पाकिस्तानको तारिफ गरेको छ । बिहीबार संसदमा बोल्ने क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको संकेत स्वरूप पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिने बताएका थिए ।
बुधबार पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमानमाथि आक्रमण गरेर खसालेको थियो । यस क्रममा पाइलट अभिनन्दन पक्राउ परेका थिए । भारतले उनलाई छुटाउन कुटनीतिक प्रयास गरेको थियो । बिहीबार संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायु सेनाका चालक अभिनन्दनलाई शुक्रबार भारतलाई बुझाइदिने जानकारी दिएका थिए ।
पाकिस्तानी सेनाले कब्जामा लिएका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई मुक्त गर्ने र स्वदेश फिर्ता पठाउने घोषणाको भारतले स्वागत गरेको छ। भारतीय सेनाका अधिकारीहरूले उक्त कदमबाट आफूहरू ’निकै हर्षित’ भएको बताएका छन्। उनलाई शुक्रवार अपराह्ण दुवै देशका पन्जाब राज्यको वाघा सीमामा भारतलाई हस्तान्तरण गरिने अपेक्षा गरिएको छ। तर पाकिस्तानका गतिविधिहरूप्रति आफू सतर्क रहेको भारतीय सेनाले जनाएको छ।
कश्मिर क्षेत्रमा तनाव बढेसँगै अहिले नियन्त्रणरेखाका दुवैपट्टि दशौँ हजार सैनिकहरू तैनाथ छन्। युद्धको त्रासले त्यस भेगका सयौँ बासिन्दाहरूले घर छाडिसकेका छन्। अभिन्दन वर्तमानलाई मुक्त गराउने दबाव भारतीय अधिकारीहरूमाथि थियो। खानको घोषणाले उनीहरूलाई ठूलो राहत मिलेको बताइएको छ। पाकिस्तानी प्रधानमन्त्रीको त्यस्तो कदमले दुवै पक्षलाई पछिल्लो तनाव सुरक्षित रूपमा अवतरण गर्न सघाउने ठानिएको छ।
पञ्जाब राज्यका मुख्यमन्त्री अमरिन्दर सिंह उनलाई स्वागत गर्न सीमामा जाने भन्दै ट्वीट गरेका छन्। कश्मिरको पुलवामा भएको आत्मघाती आक्रमणको झन्डै दुई सातापछि दुई देशले हवाई कारबाही गरेका थिए। भारतीय विमान पाकिस्तानी आकाशमा पुग्दा पाकिस्तानले आफ्नोतर्फ भारतीय वायुसेनाको एउटा विमान भुइँमा खसालिदिएको थियो र त्यसका चालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो।
भारतले आफ्नो सेनाले पनि एउटा पाकिस्तानी लडाकु विमान खसालिदिएको बताए पनि पाकिस्तानले त्यसलाई स्वीकारेको छैन। पुलवा घटनामा पाकिस्तानले आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।उसले भारतीय विमान खसालेको घटनालाई आफ्नो सीमारक्षाको दायित्व भन्ने गरेको छ।
प्रतिक्रिया