नेपाली सेना राष्ट्रको रक्षा गर्न सक्षम छः प्रधानसेनापति थापा


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनको भविष्य कोर्ने जिम्मेवारी वर्तमान नेतृत्वको भएको बताएका छन् ।

आज जङ्गी अड्डास्थित सगरमाथा हलमा चार दिवसीय गोष्ठीको समापन गर्दै प्रधानसेनापति थापाले परिवर्तन प्रबन्धन गर्ने रणनीति सफलताको लागि नेतृत्व वर्ग आफैमा स्पष्टता, शुद्धता, इमान्दारिता, निष्ठा, नैतिकता र पारदर्शिता हुनुपर्ने बताए ।

‘आजको अस्थिर, अनिश्चित, अस्पष्ट र तरल सुरक्षा वातावरणमा परिवर्तन बाहेक अरु सबै अस्थायी हो । परिवर्तनको प्रकृति अपरिवर्तनीय छ । हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्र नभई सुदृढिकरण तथा दीगोपनाको बिषयमा सबैमा समान समझदारीको विकास र प्रवर्द्धन आवश्यक देखिन्छ’, उनले भने ।

सम्बोधनको क्रममा नेपाल विश्वकै पुरानो राष्ट्र रहेको र नेपाली सेना एसियाकै सबैभन्दा पुरानो सेना भएको बताए ।

‘नेपाली सेना राष्ट्रको रक्षा गर्न सक्षम तथा समर्पित छ । परिवर्तनको शुरुवात गर्न आज जतिको उपयुक्त समय कहिल्यै नहुने वास्तविकता सबैले आत्मसात गरेमा आ–आफ्नो क्षेत्रमा वा संगठनमा परिवर्तनको वाहकको भूमिका निर्वाह गर्न सक्षम हुन्छौं’, उनले भने ।

सेनाले ‘संगठनमा परिवर्तन सुदृढीकरण र दीगोपना’ सम्बन्धी ४ दिवसीय सेमिनार सम्पन्‍न गरेको छ ।

कार्यक्रमको अन्त्यमा उनले ६ जना गैर सैनिक तथा ११ जना सैनिक वक्ताहरुलाई मायाको चिनो तथा प्रमाणपत्र बितरण गरेका थिए ।

सो समारोहमा इन्ड नोट एड्रेस गर्दै बलाधिकृत रथी प्रभुराम शर्माले सांगठनिक परिवर्तन सामुहिक प्रयास तथा जिम्मेवारीबाट मात्र सम्भव हुने र नेपाली सेना पेशेवार संगठनको रुपमा लक्ष्य प्राप्त गर्न निरन्तर लागीपर्ने बताउनु हुँदै सेमिनारलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । सोही अवसरमा उनले सेमिनारमा सहभागि सैनिक ब्यक्तिहरुलाई प्रमाणपत्र समेत बितरण गरेका थिए ।

रक्षा मन्त्रालय तथा अन्य सुरक्षा निकायहरुका उच्च तहका अधिकृतहरु, नेपाली सेनाका रथीबृन्द तथा अधिकृत वर्गको उपस्थितिमा जङ्गी अड्डामा सञ्चालन भएको उक्त ४ दिवसीय सेमिनारमा ६ जना गैर सैनिक तथा ११ जना सैनिक विषयविज्ञहरुबाट बिभिन्न महत्वपूर्ण बिषयहरुमा व्याख्यान, अन्तर्क्रिया तथा व्यापक छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement