खोकनाको समस्याले सेनालाई गम्भीर बनायोः प्रधानसेनापति थापा


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले विवादित खोकनाको विषयमा चासो राखेका छन् ।

शुक्रबार प्रधानसेनापति थापाले काठमाण्डु–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा खोकनामा देखिएको समस्याका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताएका हुन् ।

रक्षा मन्त्रालयमा भएको कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकोले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताएका हुन् ।

फास्ट ट्रयाक निर्माणमा गत वर्ष परामर्शदाता छनोटमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको बताए । खोकनाको समस्याले गम्भीर बनाएको उनले बताए ।

उनले भने, ‘खोकनाको समस्याले सेना र सरकारलाई गम्भीर बनाएको छ । त्यसको पछाडी जनताको मात्रै समस्या हो की । अरु पनि कारण छन् । ती कारणहरुको पछाडी जानुपर्ने महशुस भएको छ ।’

त्यस्तै उनले कोभिड–१९ रोगको संक्रमण नियन्त्रण गर्न लगाउनु परेको लकडाउन लगायतको कारणले केही कार्यक्रमको सन्दर्भमा कम प्रगति देखिएता पनि समग्रमा नेपाली सेनाबाट सञ्चालित कार्यक्रमको प्रगति सन्तोषजनक रहेको बताए ।

कार्यक्रम कार्यान्वयनका सन्दर्भमा सम्बन्धित सबै मन्त्रालय, निकायबाट भएको सहयोगका लागि धन्यवाद दिँदै उनले नेपाली सेना अन्तर्गत असुल गर्नुपर्ने बेरुजु अत्यन्त न्यून रहेको विषयमा समेत स्पष्ट पारेका थिए ।

साथै, रक्षा मन्त्रालयका सचिव र थापाबीच सम्पन्न कार्य सम्पादन सम्झौता बमोजिम चालु आ.व.मा नेपाली सेनाबाट सञ्चालन गर्न निर्धारित कार्यक्रमहरू लक्ष्यबमोजिम सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement