पुनर्निर्माणका चार हजार ईन्जिनियरद्वारा सामूहिक राजीनामाको घोषणा


काठमाडौं – राष्ट्रिय पूननिर्माण प्राधिकरणका चार हजार ईन्जिनियरहरुले आजैबाट लागु हुनेगरि सामूहिक राजीनामाको घोषणा गरेका छन् । बिहीबार राष्ट्रिय पूननिर्माण प्राधिकरण,प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् । आफूहरुले अघि सारेका मागप्रति सरकार संवेदनशील नभएकोले बाध्य भएर सामूहिक राजीनामा दिएको समितिको ठहर छ ।

समितिले गत चैत्र ३ गतेबाट देशव्यापी चरणबद्ध आन्दोलन गर्दै आएको थियो । तर, सरकारले चरणबद्ध आन्दोलन गर्दापनि जायज मागप्रति कुनै सुनुवाई नगरेको र उल्टै आफूहरुलाई सेवा सुविधाबाट बञ्चित गराएकोले बाध्य भएर सामूहिक राजीनामा दिनु परेको समितिका अध्यक्ष ई. अविनाश अमरले स्पष्ट पारे ।

नेपालको ईतिहाँसमै प्राविधिक जगतको सबैभन्दा ठूलो सडक संघर्षसमेत चैत्र १० गते काठमाडौंमा भएको समितिको भनाई छ । समितका अध्यक्ष अमरले भने,‘सरकारले हामीलाई अन्यायमा पारेको कारणले हामी चरणबद्ध आन्दोलनमा थियौं । तर, धैर्यताको बाँध भत्किएकोले आजैको मितिबाट लागु हुनेगरि हामी ३२ जिल्लाका सम्पूर्ण प्राविधिकहरुले सामूहिक राजीनामा घोषणा गरेका छौं ।’

सरकारले आफुहरुको माग सुनुवाई नगरेसम्म काममा नफर्किनेसमेत उनले स्पष्ट पारे । यसअघि चैत्र १२ गते नेपाल ईन्जिनियर्स एशोसिएशनको मध्यस्थतामा प्राधिकरण र आफूहरुबीच सहमति भएर एक साताभित्र सबै माग पूरा गराउने प्रतिबद्धतासहित काममा फर्किएपनि सरकारले उक्त सहमति उल्लंघन गरेको पनि समितिको आरोप छ ।

कार्यक्रममा समितिका सचिव ई. राम मल्ल, समितिका उपाध्यक्ष ई. बलराम घिमिरे, सह-सचिव ई. नृपेश सापकोटालगायतले आफ्नो धारणा राखेका थिए । समितिले आफूहरुले खाईपाई आएको प्रोत्साहन भक्ता, भौगोलिक भक्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राख्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement