गगनलाई पूर्णबहादुरको आग्रह : एकताका लागि महाधिवेशन सारेर संवाद अघि बढाउनुस्

गगनलाई पूर्णबहादुरको आग्रह : एकताका लागि महाधिवेशन सारेर संवाद अघि बढाउनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका सभापति गगनकुमार थापालाई पार्टीको सम्पूर्ण एकताका लागि तत्काल संवाद अघि बढाउन आग्रह गरेका छन् ।

असोज ३ गतेदेखि सुरु हुने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी पार्टीका अग्रज नेतासँग वार्ता तथा संवाद सुरु गर्न उनले सुझाव दिएका हुन् ।

खड्काले सामाजिक सञ्जालमार्फत सभापति थापालाई सम्बोधन गर्दै आफूहरूबिच वैशाख २१ गते भएको संवादपछि नै थापाले निर्णय गरेको भए जेठको पहिलो हप्ताभित्र सिंगो कांग्रेस सानेपास्थित केन्द्रीय कार्यालयमा एकताबद्ध भएर उभिन सक्ने अवस्था बन्ने आफ्नो धारणा रहेको उल्लेख गरेका छन् ।

थापालाई विगतका घटनाक्रम, आफूले पाएका सल्लाह तथा सुझाव र पार्टीभित्रका परिस्थितिको गम्भीर आत्मसमीक्षा गर्दै पुन: विचार गर्न उनले आग्रह गरेका छन् । खड्काले समय बलवान हुने भन्दै पार्टी एकताका लागि कठोर संकल्प गर्न सभापति थापालाई आग्रह गरेका छन् ।

खड्काले असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी केही समय सार्न सुझाव दिए । थापाले पछिल्लो समय पार्टीमा गरेको निर्णयको आधारमा १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा तथा अन्य अग्रज नेतासँग आफ्नै अग्रसरतामा तत्काल वार्ता तथा संवाद सुरु गर्न आग्रह गरेका छन् ।

पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको विश्वास व्यक्त गर्दै खड्काले २ वटा अलग–अलग महाधिवेशन रोक्न नसकिए कांग्रेस विभाजन रोक्न कठिन हुने धारणा राखेका छन् ।

कांग्रेस विभाजनपछि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अन्य दलहरूमा समेत विभाजन हुन सक्ने विश्लेषण उनले प्रस्तुत गरेका छन् । त्यसपछि देशमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्व उत्पन्न हुन सक्ने भन्दै उनले राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र स्वाभिमानमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

खड्काले आफ्ना यी विश्लेषण र अन्तरात्माको आवाज गलत साबित हुँदा आफू सबैभन्दा खुसी हुने पनि स्पष्ट पारे । उनले कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण सभापति थापालाई समस्या नपर्ने आफ्नो विश्वास रहेको उल्लेख गर्दै निर्णायक र साहसिक कदम चाल्न आग्रह गरे । थापाले विगतमा भोगेका अनुभव, प्राप्त सल्लाह–सुझाव र घटनाक्रमलाई गहिरो शिक्षाका रूपमा लिएर समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

खड्काले सभापति थापालाई पार्टीको सम्पूर्ण एकताको नेतृत्व गर्ने कांग्रेस सभापति बन्न आग्रह गर्दै आफू कुनै महत्वाकांक्षाबाट मुक्त भएर पार्टी एकताका लागि आवश्यक त्याग गर्न तयार रहेको बताए ।